काठमाडौं । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय, परीक्षा नियन्त्रण महाशाखा मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा सञ्चालन हुने एमबीएस दोस्रो सेमेस्टरको परीक्षा स्थगित गरेको छ ।
त्यहाँ देखिएको असहज परिस्थतीका कारण परीक्षा स्थगीत गर्नुपरेको जनाएको छ । शुक्रबार सूचना जारी गर्दै आज सञ्चालन हुने मार्केटिङ म्यानेजमेन्ट विषयको परीक्षा ती केन्द्रहरूमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो ।
महाशाखाका अनुसार स्थगित गरिएको विषयबाहेक अन्य सबै विषयको परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुनेछ । साथै, स्थगित गरिएका परीक्षा केन्द्रबाहेक अन्य सबै केन्द्रमा पनि परीक्षा यथावत् सञ्चालन गरिने जनाइएको छ ।
स्थगित गरिएका परीक्षा केन्द्रहरूमा रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (जनकपुर), सर्लाही क्याम्पस (मलंगवा), जनज्योति बहुमुखी क्याम्पस (लालबन्दी), सूर्यनारायण सत्यनारायण मोरबैता यादव क्याम्पस (सिरहा) रहेका छन् ।
यस्तै जेएस मुरारका बहुमुखी क्याम्पस (लहान), श्री महेन्द्रनारायण निधि बहुमुखी क्याम्पस (राजविराज), नेसनल पिपुल कलेज (कञ्चनपुर–८, सप्तरी), जनज्योति बहुमुखी क्याम्पस (चन्द्रनिगाहपुर), गोरीशंकर यादव रौतहट क्याम्पस (गौर), सिमरा कलेज (बारा) र ठाकुरराम बहुमुखी क्याम्पस (वीरगञ्ज) रहेका छन् ।