काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा रिक्त पदाधिकारी तथा केन्द्रीय सदस्यको मनोनयन तत्काल नहुने भएको छ ।
पार्टी सभापति रवि लामिछानेले संगठनलाई दीर्घकालीन रूपमा मजबुत बनाउने गरी आवश्यक छलफल, मूल्याङ्कन र सन्तुलन कायम गरेर मात्रै मनोनयन प्रक्रिया अघि बढाउने संकेत दिएको लामिछाने निकट एक पदाधिकारीले जानकारी दिए ।
ती पदाधिकारीका अनुसार बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले मनोनयनका विषयमा हतार नगर्ने धारणा राखेका थिए ।
उनका अनुसार सभापति लामिछानेले पार्टीको आगामी संरचना, नेतृत्व व्यवस्थापन र संगठन विस्तारलाई ध्यानमा राखेर निर्णय लिने बताएका थिए ।
‘पदपूर्ति मात्र गर्नेभन्दा पनि पार्टीलाई प्रभावकारी र बलियो बनाउने उद्देश्यसहित निर्णय लिनुपर्छ’ भन्ने सभापतिको धारणा रहेको पदाधिकारीले दावी गरे ।
रास्वपाको संशोधित विधानले सभापतिलाई १२ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार दिएको छ । महाधिवेशनबाट निर्वाचित पदाधिकारीबाहेक बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्य सभापतिको प्रस्तावमा चयन हुने व्यवस्था विधानमा गरिएको छ ।
हालै चितवनमा सम्पन्न रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनबाट सभापति, दुई उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री निर्वाचित भएका छन् ।
तर विधानअनुसार आवश्यक पर्ने एक उपसभापति, एक महामन्त्री, थप सहमहामन्त्री, कोषाध्यक्ष र सहकोषाध्यक्षलगायतका पद अझै रिक्त छन् । ती पदमा मनोनयन भएपछि मात्रै पार्टीको पदाधिकारी संरचनाले पूर्णता पाउनेछ ।
त्यसैगरी, निर्वाचित केन्द्रीय सदस्यबाहेक थप ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार पनि सभापतिलाई छ । पार्टी नेताहरूका अनुसार उक्त व्यवस्थामार्फत विभिन्न भूगोल, समुदाय, पेशा र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।
महाधिवेशनपछि तत्काल मनोनयन हुने अपेक्षा गरिए पनि सभापति लामिछानेले संगठनभित्रको आन्तरिक सन्तुलन र नेतृत्व व्यवस्थापनलाई प्राथमिकता दिँदै प्रक्रिया अघि बढाउन खोजेको लामिछाने निकट नेताहरूले बताएका छन् । ती पदाधिकारीका अनुसार सम्भावित नाम, जिम्मेवारी र भूमिकाबारे आन्तरिक छलफल भइरहेको छ ।
यता मनोनयन प्रक्रियामा भएको ढिलाइलाई लिएर पार्टीभित्र फरक-फरक धारणा पनि देखिन थालेका छन् । एक पदाधिकारीका अनुसार केही प्रस्तावित नाममा सहमति जुट्न नसक्दा निर्णय प्रक्रिया लम्बिएको हुन सक्ने बुझाइ पार्टीभित्र छ ।
उनी वरिष्ठ नेता बालेन शाह समूहबाट आएका केही नामप्रति सभापति लामिछानेले थप छलफल आवश्यक ठानेका कारण पनि मनोनयन तत्काल अघि नबढेको हो ।