ब्रड पिक चढ्नुअघि निम्सले भनेका थिए– आलोचनाका आवाज रोकिएका छैनन्...

फाइल तस्विर ।

काठमाडौं । पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परेर नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना पर्वतारोही सम्पर्कविहीन भएका छन् । 

उनीसहित ६ जना नेपाली आरोहीको समूहमा छन् । 

दुई जनाको मृत्यु भइसकेको छ र आठ जनाको खोजी कार्य जारी रहेको छ । ओमानकी नाधिरा अल हार्थी र पुरबहादुर गुरुङ युक्ताको मृत्यु भएको हो ।

निम्सले विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल ६ महिनामा आरोहण गरिसकेका छन् ।  विश्वका १४ अग्ला चुचुरामध्ये आठ नेपालमा, पाँच पाकिस्तानमा र एउटा तिब्बतमा रहेका छन् । 

निम्सले ब्रड पिक हिमाल जानुभन्दा सामाजिक सञ्जालमा मिसन फेरियो र लक्ष्य अडिग छ भनेर लेखेका थिए ।

‘ब्रड पिक, म तिमीसँग सुरक्षित रूपमा माथि पुगेर सुरक्षित रूपमा फर्किन पाउने अवसरबाहेक केही पनि माग्दिनँ,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए,’ ‘कुनै पनि हिमाललाई मैले कहिल्यै सामान्य ठानेको छैन । आधार शिविरबाट पहिलो पाइला चाल्ने क्षणदेखि नै म शतप्रतिशत समर्पित हुनेछु । सधैं त्यस्तै थिएँ र सधैं त्यस्तै रहनेछु ।’

यो अभियानमा आफूलाई यहाँसम्म पुर्याउने र आलोचना गर्नेहरूलाई पनि समर्पित रहने उनले लेखका छन् । 

‘दुई पक्षबिना संघर्षको कुनै पनि आगो बल्दैन । त्यसैले तपाईंहरू सबैप्रति म हृदयदेखि नै आभारी रहेको छु, ’ उनले लेखेका छन् ।

आफ्नो उद्देश्य कहिल्यै व्यक्तिगत नभएको समेत उनले बताएका छन् । 

‘तपाइलाई विश्वास दिलाउनु छ तपाईंको जीवनका आफ्नै हिमालहरू, ती जुनसुकै स्वरूपका किन नहून्, अवश्य पनि आरोहण गर्न सकिन्छ,’ उनले लेखेका छन् ।

प्रोजेक्ट पसिबल अन्तर्गत अक्सिजनबिना सबै १४ वटा आठ हजारको हिमाल आरोहण गर्दा धेरैले आलोचना गरेको पनि उनले उल्लेख गरेका छन् ।

अक्सिजनबिना सबै १४ आठ हजारको हिमाल दोस्रो पटक पूरा गर्ने लक्ष्यतर्फ अघि बढिरहेको पनि उनले उल्लेख गरेका छन् । 

उनले यो तेस्रो उपलब्धि हुने पनि बताएका थिए ।

‘आलोचनाको आवाज अझै रोकिएको छैन, मैले त्यसलाई सुन्न छाडिसकेको छु,’ उनले लेखेका छन्, ‘शंका गर्नेहरूका लागि एउटा तथ्य पर्याप्त छ । मैले पाकिस्तानका पाँचवटै आठ हजार हिमाल केवल २६ दिनमै अक्सिजनबिना आरोहण गरिसकेको छ । अक्सिजन प्रयोग गरेर मेरा कीर्तिमान तोड्नेहरूको रेकर्डसमेत मैले अक्सिजनबिनै तोडिसकेको छु ।’

Share News