मलेसियाको जनसंख्या ३ करोड ४४ लाख पुग्यो

काठमाडौं । मलेसियाको कुल जनसंख्या सन् २०२६ मा ३ करोड ४४ लाख पुगेको छ । मलेसियाको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको आधिकारिक प्रतिवेदन अनुसार अघिल्लो वर्ष ३ करोड ४२ लाख रहेको जनसंख्यामा ०.५ प्रतिशतको वार्षिक वृद्धिदर देखिएको हो ।

तथ्याङ्क विभागकाअनुसार मलेसियाली नागरिकको संख्या सन् २०२५ को ३ करोड ८ लाखबाट बढेर ३ करोड १० लाख पुगेको छ । नागरिकहरूको जनसंख्यामा वृद्धिदर ०.६ प्रतिशत कायम रहेको छ । यसको विपरित, गैर–नागरिकको संख्यामा भने गिरावट आएको छ । सन् २०२५ मा ०.५ प्रतिशतले घटेको गैर–नागरिकको संख्या यस वर्ष थप ०.२ प्रतिशतले खुम्चिएको विभागले जनाएको छ । 

देशको कुल जनसंख्यामा नागरिकको हिस्सा ९०.२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ९०।१ प्रतिशत रहेको थियो । 

जातीय बनोटका आधारमा ‘भूमिपुत्र’ समुदाय ७०.७ प्रतिशतका साथ सबैभन्दा ठूलो समूहका रूपमा रहेको छ । यसमध्ये ५८.४ प्रतिशत मलाया र १२.३ प्रतिशत अन्य भूमिपुत्र रहेका छन् । चिनियाँ मूलका नागरिकको हिस्सा २२.२ प्रतिशतबाट झरेर २२ प्रतिशतमा सिमित भएको छ । त्यसैगरी, भारतीय र अन्य जातीय समूहको हिस्सा भने क्रमशः ६.५ प्रतिशत र ०.८ प्रतिशतमा यथावत रहेको तथ्याङ्कमा उल्लेख छ । 

Share News