काठमाडौं । सार्वजनिक विदाको दिनमा समेत राहदानी (पासपोर्ट) विभागमा राहदानी बनाउनेको भीड लागेको छ ।
दक्षिण कोरियामा रोजगारी अनुमति पत्र (इपीएस) को आवेदनको लागि विभागमा ई–पासपोर्ट बनाउने सेवाग्राहीहरुको भीड लागको हो ।
विभागले सेवाग्राहीको चापलाई मध्यनजर गरेर सार्वजनिक विदाको दिनमा समेत पासपोर्ट वितरण गर्ने व्यवस्था मिलाएको छ । विभागले शनिवार र आइतबार सार्वजनिक विदाको दिनमा समेत बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म राहदानी सेवा दिने व्यवस्था गरेको जनाएको छ ।
आइतबार बिहानैदेखि राहदानी लिने सेवाग्राहीहरूको विभागमा भीड लागेको छ । विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरुले समयमा नै राहदानी पाउन नसकेको गुनासो गरेका छन् ।
विभागले राहदानी सेवा प्रवाहलाई सहज बनाएको दाबी गरेपनि सेवाग्राही तिलकबहादुर घर्ती मगरले भने फास्ट ट्«याक सेवा पनि प्रभावकारी नभएको गुनासो गरे ।
इपिएस परीक्षाका लागि राहदानी बनाउन रोल्पादेखि काठमाडौं आएको एक साताभन्दा बढी भइसक्दा पनि राहदानी नपाएको उनको गुनासो छ । उनले सुरुमा आवेदन दिन नै वेबसाइट नखुलेर मुस्किल परेको बताए ।
आवेदन दिएपछि तीन दिनमा राहदानी तयार हुने र एसएमएस आउने भनिए पनि अहिलेसम्म कुनै सन्देश नआएको उनको गुनासो छ । राहदानी ढिलो हुँदा इपीएस आवेदनको अन्तिम म्याद गुम्ने जोखिम रहेको भन्दै उनले सेवा छिटो र व्यवस्थित बनाउन सरकारसँग आग्रहसमेत गरे।
मगरले भने, ‘इपीएस परीक्षाको लागि पासपोर्ट बनाउन काठमाडौं राजधानीसम्म आइयो । सुरुमै फर्म भर्दाखेरि सर्भर डाउन भएर समस्या परिरहेको थियो । फर्म भर्न नै दुई/तीन दिन लाग्यो । तर अहिलेसम्म एसएमएस आएको छैन । हाम्रो सरकारको खै के हो ? नीति नै यस्तै हो कि अब कर्मचारीहरुले नै हाम्रो काम ढिलो गरिदिएको हो कि ? जे होस् छिटो हुनुपर्यो ।’
राहदानी विभागले पनि नयाँ प्रणालीको स्थिरीकरण र इपीएस आवेदनका कारण एक्कासि बढेको सेवाग्राहीको चापले राहदानी वितरणमा केही समस्या भएको स्वीकार गरेको छ ।
विभागका निर्देशक दीपक बञ्जाडेका अनुसार पासपोर्ट अभाव नभएपनि प्रणालीमा प्राविधिक त्रुटि देखिँदा केही सेवाग्राहीले समयमै राहदानी पाउन सकेका छैनन् ।
उनले ‘अर्जेन्ट’ राहदानी सेवा दुई कार्यदिन (४८ कार्यघण्टा) भित्र उपलब्ध गराउने व्यवस्था गरेको बताए ।
उनले इपीएस आवेदनका कारण दैनिक हजारौं अतिरिक्त आवेदन परेकाले निर्धारित समयमै सेवा दिन केही चुनौती भएको दावीसमेत गरे । प्राविधिक त्रुटि देखिएका फाइलमा भने थप एक कार्यदिन लाग्न सक्ने उनले जानकारी दिए ।
निर्देशक बञ्जाडेले अधिकांश सेवाग्राहीलाई राहदानी तयार भएको वा आवश्यक कागजात अपलोड गर्नुपर्ने जानकारी एसएमएसमार्फत पठाइने गरेको उल्लेख गरे ।
उनका अनुसार केही दिनअघि एसएमएस सेवा प्रदायक कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम सकिँदा केही सेवाग्राहीलाई सन्देश पुग्न सकेको थिएन । तर हाल उक्त समस्या समाधान भइसकेको उनको दावी छ ।
केही सेवाग्राहीको राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँगको समन्वयमा समस्या देखिँदा पनि राहदानी प्रक्रिया रोकिएको उनले बताए ।
त्यसका लागि अहिले विभागमै एनआईडीका कर्मचारी खटाएर समस्या समाधान गर्ने व्यवस्था मिलाएको उनको भनाइ छ ।
निर्देशक बञ्जाडेले अत्यावश्यक पर्नेले मात्रै आवदेन दिन पनि सेवाग्राहीलाई आग्रह गरे ।
उनले राहदानी अभाव रहेको हल्लाले पनि सेवाग्राहीको चाप बढेको उल्लेख गर्दै राहदानी अभाव नभएको बताए ।
विभागले हाल दैनिक एक हजार ५ सय राहदानीको छपाई गरि वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । इपिएस आवेदनलाई लक्षित गरेर विभागले साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा राहदानीको आवेदन तथा वितरण गर्ने व्यवस्था मिलाएको छ ।
विभागका अनुसार पहिला सिफ्ट बिहान ७ देखि दिउँसो २ बजेसम्म र दोस्रो दिउँसो २ बजेदेखि ९ बजेसम्म सञ्चालन भइरहेको छ । शनिवार र आइतबार सार्वजनिक विदाको दिनमा समेत बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सेवा प्रवाह गरिरहेको विभागले जनाएको छ ।