काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेका रजिष्ट्रार र रेक्टर पदमा नियुक्तिका लागि तयारी हुँदै गर्दा हप्राध्यापक डा. कुन्दन अर्याल र प्राध्यापक डा. शंकरप्रसाद खनालको नाम सम्भावित दाबेदारका रूपमा अगाडि आएको छ ।
त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार पद विश्वविद्यालयको प्रशासनिक संरचनाको महत्वपूर्ण जिम्मेवारी मानिन्छ । आर्थिक व्यवस्थापन, नीति कार्यान्वयन, प्रशासनिक समन्वय तथा विश्वविद्यालयका दैनिक व्यवस्थापनसँग सम्बन्धित विषयमा रजिष्ट्रारको भूमिका निर्णायक हुन्छ ।
विश्वविद्यालय स्रोतका अनुसार सहप्राध्यापक डा. अर्यालको नाम रजिष्ट्रार पदका सम्भावित उम्मेदवारका रूपमा चर्चामा आएको छ । प्राज्ञिक क्षेत्रको अनुभव र विश्वविद्यालय प्रशासनसम्बन्धी ज्ञानका कारण उनको नाम अगाडि आएको स्रोतको दाबी छ ।
अर्याललाई विश्वविद्यालयभित्र प्राध्यापन तथा अनुसन्धान क्षेत्रमा सक्रिय प्राज्ञिक व्यक्तिका रूपमा हेरिन्छ । विश्वविद्यालयको प्रशासनिक नेतृत्वमा जाने व्यक्तिका लागि आवश्यक मानिने शैक्षिक अनुभव, संस्थागत बुझाइ र व्यवस्थापकीय क्षमताका आधारमा उनको नाम चर्चामा आएको श्रोतको दाबी छ ।
अर्यालको भोली सोमबार प्राध्यापक पदको भाइवा रहेको छ । सोमवार बेलुकाबाट प्राध्यापकमा पदोन्नती हुँदै गरेका अर्याल पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख समेत हुन् ।
रेक्टरमा खनालको नाम
त्रिविको रेक्टर पद शैक्षिक नेतृत्वसँग जोडिएको महत्वपूर्ण जिम्मेवारी हो । शैक्षिक नीति निर्माण, अनुसन्धान प्रवद्र्धन, पाठ्यक्रम सुधार तथा प्राज्ञिक कार्यक्रमको समन्वयमा रेक्टरको भूमिका रहन्छ ।
यस पदका लागि प्राध्यापक डा. शंकरप्रसाद खनालको नाम पनि सम्भावित दाबेदारका रूपमा चर्चामा रहेको श्रोतले बताएको छ । लामो समयदेखि प्राध्यापन तथा प्राज्ञिक क्षेत्रमा सक्रिय खनाललाई विश्वविद्यालयको शैक्षिक नेतृत्वका लागि योग्य व्यक्तिका रूपमा केही समूहले अघि सारेको स्रोतको भनाइ छ । हाल कामु रेक्टर रहेका खनाल तथ्यांक विभागका पुर्वप्रमुख समेत हुन् ।
त्रिभुवन विश्वविद्यालय पछिल्लो समय शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थापन, अनुसन्धानको विस्तार र प्रशासनिक सुधारका विषयमा निरन्तर दबाबमा छ । शिक्षामन्त्री तथा विश्वविध्यालयका सहकुलपति सस्मित पोखरेल निकट श्रोतका अनुसार नयाँ पदाधिकारी चयनलाई विश्वविद्यालय सुधारको दिशासँग जोडेर हेरिएको छ ।
विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारी वृत्तले नयाँ नेतृत्वमा प्रशासनिक दक्षतासँगै प्राज्ञिक दृष्टिकोण, पारदर्शिता र संस्थागत सुधारको क्षमता भएका व्यक्तिको आवश्यकता औंल्याउँदै आएका छन् । त्रिविको रजिष्ट्रार र रेक्टर नियुक्ति प्रक्रिया उपकुलपतिको सिफारिस तथा विश्वविद्यालय ऐनअनुसार अघि बढ्नेछ ।
गत असारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका थिए । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थापालाई प्रधानमन्त्रीसमेत रहेका कुलपति बालेन शाहले उपकुलपतिमा नियुक्त गरेका थिए ।