युट्युबमार्फत भ्रामक सामग्री फैलाउने भुसाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले युट्युबमार्फत भ्रामक तथा उत्तेजक सामग्री प्रसारण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ घर भई हाल रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बस्दै आएका ३१ वर्षीय जनक भुसाललाई इलाका प्रहरी कार्यालय, बुटवलको सहयोगमा शनिबार बुटवलबाट पक्राउ गरिएको हो ।

साइबर ब्युरोका अनुसार ‘नेपाली खबर टीभी’ नामक युट्युब च्यानलमार्फत देशको विद्यमान परिस्थितिलाई प्रत्यक्ष असर पर्ने खालका भ्रामक भिडियो सामग्री तयार गरी प्रसारण गरिएको पाइएपछि पक्राउ गरिएको हो ।

ब्युरोले ती सामग्रीमार्फत अफवाह फैलाउने, जातीय तथा धार्मिक हिंसा भड्काउने, हिंसात्मक तथा ध्वंसात्मक गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई थप उत्तेजित बनाउने, साथै कानुनले प्रकाशन तथा प्रदर्शन गर्न निषेध गरेका सामग्री र विभिन्न जातजाति तथा समुदायबीचको सद्भाव खलबल्याउने प्रकृतिका सामग्री प्रसारण गरिएको जनाएको छ ।

ब्युरोका अनुसार भुसालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।

साइबर ब्युरोले सामाजिक सद्भाव, सार्वजनिक शान्ति तथा राष्ट्रिय सुरक्षामा असर पर्ने भ्रामक सामग्री उत्पादन वा प्रसारण नगर्न तथा त्यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ ।

Share News