काठमाडौं । एलोभेरा (घ्युकुमारी) आयुर्वेदमा शताब्दीयौँदेखि प्रयोग हुँदै आएको औषधीय वनस्पति हो । पछिल्लो समय तौल घटाउने, पाचन सुधार्ने, छालाको चमक बढाउने र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने उद्देश्यले धेरैले एलोभेरा जुस सेवन गर्न थालेका छन् ।
आयुर्वेद विशेषज्ञ डा. राजेश बयारीका अनुसार आयुर्वेदमा एलोभेरालाई ‘कुमारी’ भनिन्छ । यसले शरीरको समग्र स्वास्थ्य सुधार गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ । एलोभेरामा भिटामिन ए, सी, ई, बी–कम्प्लेक्स, फोलिक एसिड, क्याल्सियम, म्याग्नेसियम र जिंकजस्ता पोषक तत्त्व पाइन्छन् ।
शरीरमा कस्तो असर पर्न सक्छ ?
विशेषज्ञका अनुसार ३० दिनसम्म सीमित मात्रामा एलोभेरा जुस सेवन गर्दा केही व्यक्तिमा पाचन सुधार हुन सक्छ । शरीरमा पानीको मात्रा सन्तुलित राख्न र एन्टिअक्सिडेन्टको लाभ प्राप्त गर्न पनि सहयोग पुग्न सक्छ ।
कतिपयमा कब्जियत कम हुने, पेट हल्का महसुस हुने र ऊर्जा बढेको अनुभव हुन सक्छ । तर यसको प्रभाव सबै व्यक्तिमा समान नहुन सक्छ ।
पाचन प्रणालीमा फाइदा
एलोभेरा जुसले पाचन प्रणालीलाई सहयोग गर्ने विश्वास गरिन्छ । यसले केही व्यक्तिमा कब्जियत तथा इरिटेबल बाउल सिन्ड्रोम (आईबीएस) का केही लक्षण कम गर्न मद्दत गर्न सक्छ । साथै ग्यास र अम्लपित्तको समस्या कम गर्न पनि सहयोगी हुन सक्ने चिकित्सकको भनाइ छ ।
छाला र रोग प्रतिरोधात्मक क्षमतामा प्रभाव
एलोभेरामा रहेका एन्टिअक्सिडेन्ट र अन्य सक्रिय तत्त्वले शरीरमा हुने अक्सिडेटिभ तनाव कम गर्न मद्दत गर्न सक्छन् । पर्याप्त पानी र सन्तुलित आहारसँगै यसको सेवनले छालाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने बताइएको छ । विशेषज्ञका अनुसार पाचन प्रणाली स्वस्थ हुँदा रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन पनि सहयोग पुग्न सक्छ ।
तौल घटाउन कत्तिको उपयोगी ?
एलोभेरा जुसले मात्रै तौल घटाउँछ भन्ने पर्याप्त वैज्ञानिक प्रमाण छैन। तर सन्तुलित आहार, नियमित व्यायाम र क्यालोरी नियन्त्रणसँगै यसको सेवन गर्दा तौल व्यवस्थापनमा केही सहयोग पुग्न सक्ने चिकित्सकको भनाइ छ।
कहिले र कसरी पिउने ?
आयुर्वेद चिकित्सकका अनुसार एलोभेरा जुस बिहान खाली पेट पिउनु उपयुक्त मानिन्छ । १५ देखि २० मिलिलिटर जुसलाई बराबर मात्रामा मनतातो पानीमा मिसाएर सेवन गर्न सकिन्छ ।
यी व्यक्तिले अपनाउनुपर्छ सावधानी
एलोभेराको प्रकृति चिसो हुने भएकाले गर्भवती महिला, स्तनपान गराइरहेका आमा तथा विशेष स्वास्थ्य समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहबिना यसको नियमित सेवन गर्नु हुँदैन ।
विशेषज्ञहरूले एलोभेरा जुसलाई स्वस्थ जीवनशैलीको पूरकका रूपमा लिन सुझाव दिएका छन् । यसलाई कुनै रोगको उपचारको विकल्पका रूपमा भने प्रयोग गर्न नहुने उनीहरूको भनाइ छ ।
एजेन्सीको सहयोगमा