कोशीमा मुख्यमन्त्री विवाद : समाधान खोज्न एमालेको संयुक्त बैठक सुरु

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषयलाई लिएर नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्न पार्टी र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ ।

एमाले कोशी प्रदेश कमिटीको आयोजनामा भइरहेको बैठकमा पार्टीका सचिव तथा प्रदेश इन्चार्ज शेरधन राई, संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश कमिटीका पदाधिकारी तथा प्रदेशसभा सदस्यहरू सहभागी छन् ।

पार्टी र संसदीय दलबीच नयाँ सरकार गठनको विषयमा देखिएको मतभेद समाधान गर्न संयुक्त बैठक बोलाइएको एमाले कोशी प्रदेशले जनाएको छ ।

यसअघि आइतबार दिनभर मुख्यमन्त्री परिवर्तनको विषयमा आन्तरिक छलफल भएको थियो । त्यसको निरन्तरतास्वरूप सोमबार प्रदेशसभा सदस्यसहितको संयुक्त बैठक आयोजना गरिएको हो ।

बैठकमा नेपाली कम्युनिस्ट पार्टी र एमालेबीच भएको तीनबुँदे सहमतिपछि नयाँ सरकार गठनको प्रक्रियालाई लिएर पार्टीभित्र उत्पन्न विवादबारे छलफल भइरहेको छ । बैठकबाट विवाद समाधान गर्दै पार्टीको साझा धारणा तय गर्ने प्रयास भइरहेको एमाले स्रोतले जनाएको छ ।

Share News