देवेनरा ग्रुपमा प्रहरी छापापछि निजी क्षेत्र आक्रोशित, सूचना संयन्त्रको समीक्षा गर्न माग

काठमाडौं । विराटनगरस्थित देवेनरा ग्रुपको घर तथा व्यवसायमा नेपाल प्रहरीले गरेको छापाप्रति निजी क्षेत्रका विभिन्न संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले साउन १८ गते बिहान ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी करिब पाँच घण्टासम्म गरिएको छापामा कुनै गैरकानुनी वस्तु वा प्रमाण फेला नपरेको भन्दै प्रहरीको सूचना संयन्त्रको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।

विज्ञप्तिमा अपुष्ट सूचनाका आधारमा उद्योगी–व्यवसायीलाई आतंकित पार्ने शैलीमा गरिएको कारबाहीले निजी क्षेत्रलाई निरुत्साहित बनाएको उल्लेख छ । कानुन कार्यान्वयन राज्यको दायित्व भए पनि त्यसक्रममा नागरिकको सम्मान, व्यावसायिक प्रतिष्ठा, व्यवसायको निरन्तरता र प्राकृतिक न्यायका सिद्धान्तलाई ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।

निजी क्षेत्रले सरकारले लगानी र आर्थिक गतिविधि विस्तारको वातावरण बनाउने प्रतिबद्धता जनाइरहेका बेला यस्ता घटनाले सरकारको नीति र व्यवहारबीच असन्तुलन देखिएको दाबी गरेको छ । यसबाट सरकार र निजी क्षेत्रबीचको विश्वास कमजोर हुने र अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने चेतावनी दिइएको छ ।

विज्ञप्तिमार्फत छापा तथा अनुसन्धानअघि प्रयोग हुने सूचना संयन्त्रको विश्वसनीयता र प्रमाणिकताको पुनरावलोकन गर्न माग गरिएको छ । अपुष्ट सूचनाका आधारमा हुने कारबाहीले निर्दोष उद्योगी–व्यवसायीको सामाजिक प्रतिष्ठा र व्यावसायिक साखमा क्षति पुग्ने भन्दै यस्ता गतिविधिप्रति सचेत हुन सरकारलाई आग्रह गरिएको छ ।

निजी क्षेत्रले उद्योग–व्यवसायलाई शंकाको दृष्टिले नभई सहकार्य, पारदर्शिता, कानुनी सुनिश्चितता र आपसी विश्वासका आधारमा अघि बढाउने नीति अवलम्बन गर्न नेपाल सरकारसँग अनुरोध गरेको छ ।

Share News