काठमाडौं । नेपालको अटोमोबाइल व्यापारमा स्थापित व्यावसायिक घराना ओम्नी समूहले व्यावसायिक विद्युतीय सवारी साधन (कमर्सियल ईभी) मा पनि आफ्नो उपस्थिति देखाएको छ । यो समूहले ’ओम्नी मोबिलिटी प्राइभेट लिमिटेड’ मार्फत १ अर्ब २० करोड (सवा अर्ब) रुपैयाँ ऋण लिएर ईभी व्यापार सुरु गरेको हो ।
पछिल्लो समय नेपालमा यात्रुवाहक मात्र नभई व्यापारिक प्रयोजनका विद्युतीय सवारी साधनको माग तीव्र रूपमा बढेपछि ओम्नी समूहले यस क्षेत्रमा रणनीतिक लगानी बढाएको हो । कम्पनीले सवारी साधन आयात तथा व्यावसायिक सञ्चालनका लागि बैंकबाट ऋण लिएर व्यापार सुरु गरेको हो ।
सन् २०२६ को जनवरीदेखि औपचारिक सञ्चालनमा आएको ओम्नी मोबिलिटीमा स्थापित व्यवसायी तथा ओम्नी समूह र सशीला मोटर्सको संयुक्त लगानी रहेको छ । कम्पनीमा उदेयन काब्राको सबैभन्दा बढी ४८ प्रतिशत शेयर स्वामित्व रहेको छ भने अटोमोबाइल क्षेत्रमा अगाडिदेखि नै सक्रिय सशीला मोटर्स प्राइभेट लिमिटेडको ४० प्रतिशत शेयर रहेको छ । बाँकी १२ प्रतिशत शेयर स्वामित्व भने कम्पनीका अध्यक्ष सन्दीप कुमार मोहताको रहेको छ ।
ओम्नी मोबिलिटीले मुख्य गरी चिनियाँ प्रख्यात ब्रान्डका व्यावसायिक विद्युतीय सवारी साधनहरूको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरकका रूपमा काम गरिरहेको छ । कम्पनीसँग हाल चेरी वान्डा चेभो र किटन जस्ता ब्रान्डका विद्युतीय बस, माइक्रोबस, पिकअप र भ्यानहरू बिक्री वितरण गर्ने आधिकारिक अधिकार छ ।
यीमध्ये केही ब्रान्डहरू पहिले सशीला मोटर्समार्फत नेपाली बजारमा भित्रिइसकेकाले ओम्नीलाई सुरुवाती चरणमै बजार विस्तार गर्न सहज भएको छ । सुरुवाती चरणमै राम्रो बुकिङ पाएको कम्पनीले आगामी आर्थिक वर्षमा करिब १ अर्ब ८१ करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गर्ने र ९ प्रतिशत सञ्चालन नाफा मार्जिन हासिल गर्ने लक्ष्य राखेको छ ।
ओम्नी समूहको अटोमोबाइल क्षेत्रको लामो अनुभव, स्थापित बजार सम्बन्ध र सशीला मोटर्सको ब्राण्ड पहिचान कम्पनीका सबल पक्ष भए तापनि यस क्षेत्रमा प्रतिस्पर्धा र जोखिम पनि उत्तिकै छ । हाल नेपाली बजारमा केवाईसी, किङलोङ र फोटोन जस्ता ब्रान्डहरूसँग कडा प्रतिस्पर्धा रहेको छ । यसका साथै, सरकारको कर नीतिमा आउने उतारचढाव र आर्थिक चक्रियताले पनि नयाँ ईभी व्यवसायको नाफा र वित्तीय स्थितिमा असर पार्न सक्ने विश्लेषण रेटिङ एजेन्सीको छ ।