काँग्रेस सांसद कार्कीको प्रश्न : २३ लाख ग्यास सिलिन्डर कहाँ हरायो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमानसिंह कार्कीले बजारमा रहेका एलपी ग्यास सिलिन्डरको यथार्थ तथ्यांक नै सरकारसँग नरहेको आरोप लगाएका छन् ।

मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ग्यास आपूर्ति व्यवस्थापनबारे भएको छलफलमा उनले २३ लाख ग्यास सिलिन्डर कहाँ गए भन्ने विषयमा सरकारसँग विश्वसनीय विवरण नभएको बताए ।

उनले २३ लाख रिफिल हुनुपर्ने ग्यास सिलिन्डर कहाँ छन् भन्ने प्रश्न गर्दै बजार अनुगमनमा नियामक निकाय चुकिरहेको आरोप लगाए । नेपाल आयल निगमले ग्यासको पर्याप्त आपूर्ति भइरहेको दाबी गरे पनि उपभोक्ता अझै लाइनमा बस्न बाध्य रहेको उनको भनाइ थियो ।

सांसद कार्कीले टेकुबाट मात्रै ग्यास वितरण गरेर समस्या समाधान नहुने उल्लेख गर्दै सबै डिपोमार्फत समान रूपमा ग्यास वितरण गर्न आग्रह ग रे। वितरण प्रणालीमा भएको कमजोरी तत्काल सुधार गर्नुपर्ने उनको माग थियो ।

समितिको अघिल्लो बैठकमा नेपाल आयल निगमले एक साताभित्र समस्या समाधान हुने आश्वासन दिएको भए पनि १९ दिन बितिसक्दा पनि अवस्था नबदलिएको उनले बताए । पेट्रोलियम क्षेत्र सञ्चालनका लागि आवश्यक कानुन अहिलेसम्म नबनाइएकोप्रति पनि उनले असन्तुष्टि जनाए ।

बैठकमा उनले भने, ‘२३ लाख सिलिन्डर रिफिल हुनुपर्ने भनियो, तर ती सिलिन्डर कहाँ गए ? सरकारसँग त्यसको तथ्यांक नै छैन । ग्यास आपूर्ति २० प्रतिशत बढेको भनिएको छ, तर उपभोक्ता अझै लाइनमा छन् । टेकुबाट मात्रै ग्यास बाँडेर समस्या समाधान हुँदैन । वितरण प्रणालीमा भएको कमजोरी सुधार्नुपर्छ । सबैभन्दा लाजमर्दो कुरा त पेट्रोलियमसम्बन्धी कानुन नै नहुनु हो ।’

दशैं–तिहार नजिकिँदै गएकाले ग्यास आपूर्ति समस्या तत्काल समाधान नभए थप संकट उत्पन्न हुन सक्ने चेतावनी पनि उनले दिए । बजार अनुगमन प्रभावकारी बनाउन र सेटिङका आधारमा होइन, उपभोक्ताको हितलाई केन्द्रमा राखेर काम गर्न सम्बन्धित निकायलाई उनले आग्रह गरे ।

Share News