काठमाडौं । परिवारमा आमाबुबाबीच सम्बन्ध राम्रो नहुँदा त्यसको प्रत्यक्ष असर बालबालिकाको मानसिक तथा भावनात्मक विकासमा पर्न सक्ने विज्ञहरूले बताएका छन् । विशेषगरी छोराछोरी हुर्काउने क्रममा श्रीमान्को साथ नपाउँदा आमाले गर्ने केही सामान्य गल्तीले किशोर–किशोरीको मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने उनीहरूको भनाइ छ ।
प्यारेन्टिङ कोचहरूका अनुसार यस्तो अवस्थामा आमाले सबैभन्दा पहिले बच्चालाई आफ्नो ‘भावनात्मक सहारा’ बनाउने गल्ती गर्नु हुँदैन । आमाबुबाको झगडापछि छोराले भित्रभित्रै बुबाप्रति नकारात्मक भावना पाल्न थाल्ने हुन्छ ।
उनीहरूका अनुसार बच्चा अभिभावकको सल्लाहकार वा भावनात्मक सहारा होइन । आमाले आफ्नो दुःख र वैवाहिक समस्याको बोझ बच्चामाथि राख्दा उसमा अपराधबोध, तनाव र बुबाप्रति आक्रोश बढ्न सक्छ ।
त्यस्तै, दोस्रो गल्तीका रूपमा आमाबुबाको विवादमा किशोर–किशोरीलाई न्यायाधीश बनाउने प्रवृत्तिलाई विज्ञहरू औंल्याउँछन् ।
‘म ठीक कि तिम्रो बुबा ठीक ?’ वा ‘हेर, तिम्रो बुबा कस्ता छन्’ भन्ने जस्ता अभिव्यक्तिले बच्चालाई दुई अभिभावकमध्ये एक पक्ष रोज्नुपर्ने मानसिक दबाब सिर्जना गर्ने उनीहरूको भनाइ छ ।
विज्ञका अनुसार यस्तो अवस्थालाई ‘लोयल्टी कन्फ्लिक्ट’ भनिन्छ, जसले बालबालिकामा असुरक्षा, तनाव र भावनात्मक द्वन्द्व बढाउन सक्छ । वास्तवमा बच्चालाई आमा र बुबा दुवैको माया र साथ आवश्यक पर्ने उनीहरू बताउँछन् ।
त्यसैगरी, बुबाको कमी पूरा गर्ने नाममा बच्चाप्रति अत्यधिक संरक्षणात्मक (ओभरप्रोटेक्टिभ) बन्न नहुने पनि विज्ञहरू बताउँछन् ।
उनीहरूका अनुसार कतिपय आमाले श्रीमान् कठोर वा पालनपोषणमा सक्रिय नभएको अवस्थामा बच्चाको हरेक इच्छा पूरा गर्ने प्रयास गर्छन् । तर यसले बच्चामा अनुशासन, जिम्मेवारी र आत्मनिर्भरता विकास हुन बाधा पुग्न सक्छ ।
किशोर–किशोरीलाई माया मात्र होइन, स्पष्ट सीमा, अनुशासन र सही मार्गदर्शन पनि उत्तिकै आवश्यक हुने बताउँदै पारिवारिक समस्याको असर उनीहरूको मानसिक स्वास्थ्यमा नपर्ने गरी अभिभावकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा विज्ञहरू जोड दिन्छन् ।
एजेन्सीको सहयोगमा