स्वर्णिमलाई विश्वको वेवास्ता

बैंकिङ क्षेत्रको महत्त्वपूर्ण छलफलमा न आफू गए न प्रतिनिधि पठाए

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गभर्नर डा. विश्वनाथ पौडेलको सम्बन्ध एक पटक पुनः छताछुल्ल भएको छ ।  विगत केही समयदेखि उनीहरूको सम्बन्धमा आएको तिक्तता आज (मंगलबार) फेरि एक पटक छताछुल्ल भएको हो । 

मंगलबार अर्थमन्त्री डा. वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई छलफलमा बोलाएका थिए । सो बैठकमा अधिकांश वाणिज्य बैंकका सीईओहरू पुगेका छन् । 

तर, सो महत्त्वपूर्ण छलफल कार्यक्रममा बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल अनुपस्थित छन् । उनले सो बैठकमा राष्ट्र बैंकको प्रतिनिधिसमेत पठाएका छैनन् । 

अहिले अर्थमन्त्रालयमा अर्थमन्त्रीले सीईओहरूसँग छलफल गरिरहेका छन् । बैंकहरूले पनि आफ्ना अनुभव भोगाइ र बैंकिङ क्षेत्रको वर्तमान स्थितिबारे जानकारी गराइरहेका छन् । तर, गभर्नर पौडेल छलफलमा अनुपस्थित छन् । 

विगतका छलफलहरूमा अर्थमन्त्रीले गभर्नरसँग छुट्टाछुट्टै तथा बैंकिङ क्षेत्रका अधिकारीहरूसँगको भेटघाटमा गभर्नर तथा राष्ट्र बैंकका प्रतिनिधि पनि राख्ने अभ्यास थियो । गभर्नर पौडेल अर्थमन्त्रालयमा हुने पत्रकार सम्मेलनमा समेत सहभागी हुने गरेका थिए । 

डा. वाग्ले अर्थमन्त्रीका रूपमा नियुक्ति हुँदाका सुरुवाती दिनमा भने गभर्नर पौडेल अर्थमन्त्रालयमा पुग्ने गरेका थिए । तर, पछिल्लो समय अर्थमन्त्री र गभर्नरबीच दूरी बढ्दा महत्त्वपूर्ण कार्यक्रममा पनि राष्ट्र बैंक अनुपस्थित देखिने गरेको छ । 

राष्ट्र बैंकका एक कार्यकारी निर्देशकका अनुसार विगतमा यस्ता कार्यक्रममा गभर्नर र गभर्नरको अनुपस्थिति भएमा डेपुटी गभर्नर वा कार्यकारी निर्देशक कार्यक्रममा सहभागी हुने अभ्यास भए पनि यस पटकको छलफलबारे भने भन्न सकिने अवस्था नभएको बताए । 

गभर्नर कार्यालयको सचिवालयले पनि गभर्नर अर्थमन्त्रालयमा नभई सिंहदरबारमा फरक काममा गएको जानकारी दिएको छ । ‘उहाँ अर्थमन्त्रालय जानु भएको छैन, सिंहदरबारमै फरक कामका लागि जानु भएको छ,’ सचिवालयका एक सदस्यले भने ।

पछिल्लो समय गभर्नर पौडेलले अर्थमन्त्री वाग्लेसँग दूरी बढाएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग सम्बन्ध बढाएको बुझिन्छ । त्यसैले पनि अर्थमन्त्रीले गभर्नरलाई नबोलाएको हुनसक्ने बुझिएको छ । 

Share News