काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव रहेको भन्दै विभिन्न माध्यमबाट सम्प्रेषित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
मन्त्रालयले मंगलबार (आज) विज्ञप्ति जारी गर्दै पछिल्लो समय ग्यासको माग बढेको देखिए पनि विगतको तुलनामा आयात र वितरण नियमित माग धान्न सक्ने परिमाणमै भइरहेको स्पष्ट पारेको छ ।
यद्यपि पूरा सिलिन्डर वितरण सुरु भएपछि ग्यासको मागमा एक्कासि वृद्धि हुँदा बजारमा केही असहजता देखिएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका अनुसार बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सम्बन्धित निकाय तथा सरोकारवालासँग आवश्यक समन्वय भइरहेको छ।
आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउन काम भइरहेको भन्दै नेपाल आयल निगम र मन्त्रालयबाट ग्यास आयात सुनिश्चित गर्न छुट्टाछुट्टै पहल निरन्तर भइरहेको जनाइएको छ ।
यस्तै, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको मन्त्रालयले जनाएको छ ।
नेपाल आयल निगम तथा ग्यास उद्योगीसँगको समन्वयमा ग्यासको आयात, भण्डारण र वितरणलाई पारदर्शी तथा अनुगमनयोग्य बनाउनेतर्फ समेत सुधारका काम अघि बढाइएको छ ।
मन्त्रालयले हाल देखिएको ग्यास वितरणको असहजता केही दिनमै पूर्ण रूपमा समाधान हुने दावीसमेत गरेको छ।
मन्त्रालयले आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक सञ्चय नगर्न सम्पूर्ण उपभोक्तालाई आग्रह पनि गरेको छ ।
कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, तोकिएको कानुनी व्यवस्था उल्लंघन गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ ।

अब महिनामा ५० हजार मेट्रिक टन ग्यास आयात गर्ने, दशैंमा अभाव हुन नदिने