काठमाडौंं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सह-निर्माताको भूमिकामा अघि बढ्न आग्रह गरेका छन् । राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग आज भएको बैठकमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई अहिले सहुलियतभन्दा पनि स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन आवश्यक रहेको बताए ।
उनले पछिल्ला दिनमा उद्योगी-व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भएको छलफलबाट निजी क्षेत्र नयाँ अवसरसँगै नीतिगत आत्मविश्वासको खोजीमा रहेको निष्कर्ष आएको उल्लेख गरे । अर्थमन्त्री वाग्लेले विगत एक दशकका आर्थिक नीतिहरूको समीक्षा गर्दै नीतिगत निर्णयहरू कार्यान्वयनमा कमजोर हुँदा अपेक्षित परिणाम प्राप्त हुन नसकेको बताए ।
उनले बैंकिङ प्रणालीमा तरलता बढे पनि उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह हुन नसकेको, लगानीकर्ताको आत्मविश्वास कमजोर बनेको तथा पूँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध सुदृढ हुन नसकेको विषयमा गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखे । उनले चालु आर्थिक वर्षको बजेटलाई सामान्य वार्षिक बजेट नभई आर्थिक सुधार र संरचनागत रूपान्तरणको स्पष्ट रोडम्याप भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउन नेपाल राष्ट्र बैंकले आफ्नो भूमिका पुनर्परिभाषित गर्नुपर्ने बताए ।
बैठकमा अर्थमन्त्रीले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह विस्तार, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, उत्पादन र रोजगारीमा रूपान्तरण, पूँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध निर्माण तथा मौद्रिक र वित्तीय नीतिबीच प्रभावकारी समन्वयका विषयमा कार्यकारी निर्देशकहरूको धारणा मागे । त्यसैगरी डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्त पोषण र नयाँ वित्तीय उपकरणलाई सहज बनाउने विषयमा पनि आवश्यक नीतिगत पहल गर्नुपर्नेमा उनले जोड दिए ।
यस्तो छ अर्थमन्त्रीको धारणा
आजको बैठक नियमित अन्तरसंस्थागत समन्वय बैठक मात्र नभएर नेपालको आर्थिक रूपान्तरणलाई कार्यान्वयनमा लैजाने साझा अभियानको एउटा महत्वपूर्ण चरण हो । पछिल्ला केही दिनमा मैले उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग लामो समय छलफल गर्ने अवसर पाएँ । ती दुवै बैठकबाट एउटा कुरा अत्यन्त स्पष्ट भएर आएको छ– निजी क्षेत्र अहिले नवीन अवसरसंगै बढी आत्मविश्वास खोजिरहेको छ । उहाँहरूलाई केवल सहुलियत होइन, स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन चाहिएको छ ।
यही सन्दर्भमा आज म तपाईहरुसँग बसेको छु । हाम्रो सोच, हाम्रो प्राथमिकता र हाम्रो कार्यसम्पादन एउटै दिशामा उन्मुख हुनुपर्छ । हामीले पछिल्लो एक दशकलाई फर्केर हेर्नुपर्छ । के हामीले नीतिगत रूपमा सही निर्णयहरू गर्न सकेनौँ ? धेरै ठाउँमा सकेका थियौँ । तर ती निर्णयहरू कार्यान्वयनसम्म पुग्दा किन अपेक्षित परिणाम दिन सकेनन् ? किन निजी क्षेत्र क्रमशः प्रति रक्षात्मक बन्दै गयो ? किन लगानीको आत्मविश्वास कमजोर भयो ? किन बैंकमा तरलता बढ्दै गयो तर उद्योगमा कर्जा पुग्न सकेन ? किन पूँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर बन्दै गयो ? किन उत्पादन र उत्पादकत्वले अपेक्षित गति लिन सकेन ?
यी प्रश्नहरू केवल समीक्षा गर्ने विषय होइनन् । यिनै प्रश्नको उत्तरले आगामी दशकको आर्थिक नीति निर्धारण गर्नेछ ।
यस वर्षको बजेटमार्फत सरकारले एउटा स्पष्ट दिशा तय गरेको छ । यो सामान्य वार्षिक बजेट होइन । यो आर्थिक सुधार र संरचनागत रूपान्तरणको रोडम्याप हो । अब प्रश्न अर्को छ- नेपाल राष्ट्र बैंक यस यात्रामा आफ्नो भूमिका कसरी पुनर्परिभाषित गर्छ ? आज म यही विषयमा खुला र गम्भीर छलफल चाहन्छु ।
हामी सबैले आफ्नै संस्थालाई एउटा प्रश्न सोध्नुपर्छ- के हामी पर्याप्त आत्मविश्वासका साथ काम गरिरहेका छौँ ? के हाम्रो नीतिगत स्पष्टता पर्याप्त छ ? के हाम्रो निर्णय प्रक्रियामा पर्याप्त तत्परता छ ? के हामी समस्या समाधान गर्ने नियामक हौँ, कि समस्या व्यवस्थापन गर्ने नियामक मात्र ? हामीले अहिलेको आर्थिक परिस्थितिलाई केवल जोखिम व्यवस्थापनको दृष्टिले हेर्ने कि अवसर सिर्जनाको दृष्टिले पनि हेर्ने ? यही सोचमा अब परिवर्तन आवश्यक छ ।
आज म विशेष गरी केही विषयमा यहाँहरूको धारणा सुन्न चाहन्छु । सरकारले घोषणा गरेका आर्थिक सुधारहरूलाई सफल बनाउन नेपाल राष्ट्र बैंकले अब कुन–कुन नीतिगत पहल गर्नुपर्छ? उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह कसरी बढाउन सकिन्छ ? बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उत्पादन, उद्योग र रोजगारीमा कसरी रूपान्तरण गर्न सकिन्छ ? पूँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध कसरी निर्माण गर्न सकिन्छ ? मौद्रिक नीति र वित्तीय नीतिबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउने? डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणलाई कसरी सहज बनाउने ?
अब नियमनको उद्देश्य केवल नियन्त्रण होइन, उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउनु पनि हो । हाम्रो नियमनले नवप्रवर्तनलाई रोकिरहेको छ कि प्रोत्साहन गरिरहेको छ ? यो प्रश्न पनि हामीले आफैँसँग सोध्नुपर्छ ।
आज म विशेष आग्रह गर्न चाहन्छु- हामी 'यो सम्भव छैन' भन्ने सोचबाट होइन, 'यसलाई सम्भव बनाउन के गर्नुपर्छ ?' भन्ने सोचबाट छलफल गरौँ । किनभने अहिले नेपाललाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो ।
यदि सरकार आत्मविश्वासी छ, नेपाल राष्ट्र बैंक आत्मविश्वासी छ, बैंकिङ प्रणाली आत्मविश्वासी छ र निजी क्षेत्र आत्मविश्वासी छ भने आर्थिक वृद्धि धेरै टाढाको लक्ष्य हुँदैन । सरकारका तर्फबाट हामीले आफ्नो जिम्मेवारी स्पष्ट रूपमा लिएका छौँ । सुधारको प्रक्रिया सुरु भइसकेको छ । आवश्यक कानुनी संशोधन, संस्थागत सुधार र कार्यान्वयनलाई तीव्रता दिइरहेका छौँ । अब मौद्रिक पक्षबाट पनि त्यही गति, त्यही स्पष्टता र त्यही प्रतिबद्धता आवश्यक छ ।
नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा होइन, नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सह-निर्माताका रूपमा हेर्न चाहन्छु । आजको छलफल कुनै औपचारिक टिप्पणीमा सीमित रहने छैन । यहाँ उठेका प्रत्येक विषयलाई कार्ययोजनामा रूपान्तरण गरिनेछ । आवश्यक परे संयुक्त कार्यदल बनाउनेछौँ, नीतिगत समन्वयलाई संस्थागत गर्नेछौँ र निर्णय प्रक्रियालाई अझ छरितो बनाउनेछौँ ।
हामीसँग अहिले दुर्लभ अवसर छ। सुधारको राजनीतिक इच्छाशक्ति छ । आर्थिक स्थायित्वको आधार बनेको छ । निजी क्षेत्र अवसरका लागि तयार छ । अब राज्यका संस्थाहरूले पनि एउटै आत्मविश्वास, एउटै स्पष्टता र एउटै गतिका साथ अघि बढ्नुपर्छ । यदि सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्र एउटै दिशामा अघि बढे भने नेपालको आर्थिक रूपान्तरण अब केवल कल्पना रहने छैन, त्यो कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ ।
आउनुहोस्, आजको बैठकलाई त्यही साझा यात्राको अर्को महत्वपूर्ण सुरुवात बनाऔँ ।