काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले नैतिक तथा राजनीतिक संकटको सामना गरिरहेका बेला त्यसको समाधान खोज्नुको सट्टा जनताको ध्यान अन्यत्र मोड्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।
बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनविश्वास गुमाउँदै गएको दाबी गर्दै संकटबाट बाहिरिने उपाय खोज्नुपर्ने ठाउँमा नयाँ–नयाँ विवाद र विषय सिर्जना गरेर मूल मुद्दाबाट ध्यान हटाउने रणनीति अपनाएको बताए ।
'नेपालमा जब सरकार नैतिक संकटमा पर्छ, राजनीतिक अक्षमता देखिन्छ र जनविश्वासको संकटले घेरिन्छ, त्यसबेला समस्याको समाधान खोज्ने होइन, विषयान्तर गर्ने प्रवृत्ति देखिन्छ,' चालिसेले भने, 'सरकार अहिले पनि त्यही चलाखीमा लागेको छ। जनताको ध्यान मोड्ने प्रयास स्पष्ट देखिएको छ ।'
उनले सरकारले जुनसुकै नयाँ विषय अघि सारे पनि सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक अधिकारसँग सम्बन्धित मुद्दाहरूलाई ओझेलमा पार्न नसक्ने दाबी गरे ।
प्रवक्ता चालिसेका अनुसार सरकारको ध्यान मूल समस्याको समाधानभन्दा राजनीतिक रूपमा आलोचना छल्ने रणनीतिमा केन्द्रित देखिएको छ । उनले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा जवाफदेहिता र जिम्मेवारीबाट सरकार पछि हट्न नहुने पनि बताए ।
कांग्रेसले सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक अधिकारका मुद्दा कुनै पनि राजनीतिक विषयान्तरले समाप्त नहुने भन्दै सरकारले विवाद सिर्जना गर्नुको सट्टा जनविश्वास पुनःस्थापित गर्ने कदम चाल्नुपर्नेमा जोड दिएको छ ।