एक्सेल डेभलपमेन्ट बैंकको नाफा ५४ करोड, लाभांश क्षमतामा सुधार

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष उल्लेखनीय वित्तीय सुधार हासिल गरेको छ । कर्जा असुलीमा सुधार, खुद ब्याज आम्दानीमा वृद्धि र सञ्चालन नाफामा उल्लेख्य विस्तारसँगै बैंकको लाभांश वितरण क्षमता पनि मजबुत बनेको छ  ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको ५६ करोड ५५ लाख रुपैयाँबाट १४.७२ प्रतिशतले बढेर ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष १७ करोड २६ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) गरेको बैंकले गत आर्थिक वर्ष कर्जा असुलीमा सुधार गर्दै १९ करोड ४२ लाख रुपैयाँ राइटब्याक गरेको छ । यही सुधारले बैंकको नाफा वृद्धि गर्न मुख्य योगदान दिएको बैंकले जनाएको छ ।

सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ११ करोड २१ लाख रुपैयाँबाट बढेर ५३ करोड ९५ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफामा आएको उल्लेख्य वृद्धिसँगै बैंकको लाभांश वितरण गर्ने क्षमता पनि बलियो बनेको छ ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २४.७६ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर वितरणयोग्य नाफा (डीपीएस) १४.३८ रुपैयाँ पुगेको छ । यी सूचकले लगानीकर्ता तथा शेयरधनीका लागि सकारात्मक प्रतिफलको संकेत गरेका छन् ।

त्यसैगरी, बैंकको पूँजी पर्याप्तता अनुपात १४.६३ प्रतिशत कायम रहेको छ । यो अनुपातले बैंकको वित्तीय जोखिम वहन गर्ने क्षमता सुदृढ रहेको तथा नियामकीय मापदण्डभित्र रहेर सुरक्षित रूपमा कर्जा विस्तार गरिरहेको देखाउँछ ।

समीक्षा अवधिमा बैंकको निक्षेप १६ अर्ब ७५ करोड रुपैयाँबाट १२ प्रतिशतले बढेर १८ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । ग्राहकलाई प्रवाह गरिएको कर्जा १२ अर्ब ८४ करोड रुपैयाँबाट ७.३२ प्रतिशतले वृद्धि हुँदै १३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यसैगरी बैंकको कुल सम्पत्ति १८ अर्ब ९८ करोड रुपैयाँबाट बढेर २१ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

बैंकका अनुसार समग्र वित्तीय सूचकमा आएको सुधारले संस्थागत स्थायित्व, व्यवस्थापनको प्रभावकारिता र भविष्यको व्यवसायिक सम्भावनाप्रति सकारात्मक संकेत गरेको छ ।

कोशी प्रदेशलाई कार्यक्षेत्र बनाएको एक्सेल डेभलपमेन्ट बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, सङ्खुवासभा र धनकुटा जिल्लाका ४७ शाखा तथा तीनवटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लामा समेत शाखा विस्तार गर्ने लक्ष्य बैंकले लिएको जनाएको छ ।

Share News