सरकारको दबाबपछि तिब्बतीय अध्यन सम्मेलन स्थगित

काठमाडौं । सरकारको दबाबपछि तिब्बतीय अध्ययन सम्मेलन नहुने भएको छ । काठमाडौंमा विश्वभरका प्रतिष्ठित विश्वविद्यालयका प्राध्यापक, प्राज्ञ तथा शोधकर्ताहरूको सहभागितामा नेपालमा १७ औं अन्तर्राष्ट्रिय प्राज्ञिक गोष्ठी आयोजना हुने तय भएको थियो ।  

तीनदेखि चार वर्षमा विश्वका विभिन्न मुलुकमा आयोजना हुँदै आएको यो अन्तर्राष्ट्रिय गोष्ठी यसपटक सत्रौं संस्करणका रूपमा नेपालमा हुन तयारी भएको थियो ।

सरकारले वर्तमान अवस्थामा सम्मेलन नगर्न निर्देशन आएकाले सम्मेलन रद्द गरिएको गोष्ठीका संयोजक रहेका प्रा.सागर शर्माले जानकारी दिए । ‘हामीले सरकारको निर्देशन मान्नैपर्यो । राज्यभित्र रहने भएकाले राज्यका कानुन तथा निर्देशन मान्नुपर्छ,’ उनले विकासन्युजसँग भने ।

काठमाडौं विश्वविद्यालयअन्तर्गतको सेन्टर फर बुद्धिस्ट स्टडिज, राङ्जुङ येशे इन्स्टिच्युटको संयुक्त आयोजनामा हुन लागेको थियो ।  आगामी भदौको ७ देखि १३ सम्म काठमाडौंमा ‘इन्टरनेसनल एसोसिएसन फर तिब्बती स्टडिज’ को सम्मेलन हुन लागेको थियो ।

नेपाल प्रहरीका उच्च अधिकृतले सुरक्षा थ्रेटको चुनौतीलाई लिएर पनि तिब्बतीय अध्ययन सम्मेलन रोकिएको बताए । ’सुरक्षा चुनौतीलाई लिएर र देशी–विदेशीले यहाँ खेल्न सक्ने भन्दै चुनौती देखिएको थियो,’ ती प्रहरी अधिकृतले भने ।

विभिन्न मुलुकका अध्यताहरू आउने र यहाँका वस्तुस्थिति तथा राजनीति विश्लेषण गर्न सक्ने भएकाले पनि सुरक्षाको तहबाट यो उच्च जोखिममा रहेको प्रहरीले निष्कर्ष ​​​ निकालेको उनको भनाइ छ ।

परराष्ट्रका एक अधिकारीले सरकारको निर्देशन तथा नियमविपरीत सम्मेलन गर्न लागिएका तत्काल कार्यक्रम रद्ध गर्न अनुरोध गरिएको बताए ।

‘कतिपय अवस्थामा भू– राजनीतिलाई पनि ख्याल गर्नुपर्ने भएकाले सम्मेलन रद्द गर्नु परेको हो,’ उनले भने ।

Share News