काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कको नेटवर्थमा बुधबार ठूलो गिरावट आएको छ ।
उनको कम्पनी स्पेशएक्सका सेयरमा बुधबार १३.६१ प्रतिशत गिरावट आएको थियो भने टेस्लाको सेयर पनि १.७७ प्रतिशतले घटेको थियो ।
ब्लूमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार सेयर बजारमा आएको गिरावटका कारण मस्कको नेटवर्थ ८९.६ अर्ब अमेरिकी डलरले घटेको छ ।
यो मुकेश अम्बानीको नेटवर्थ ८५.७ अर्ब डलरभन्दा पनि बढी हो । यससँगै मस्कको कुल सम्पत्ति ६८७ अर्ब डलरमा झरेको छ । यद्यपि, यस वर्ष उनको नेटवर्थ अझै ६८.१ अर्ब डलरले बढेको छ ।
बुधबार विश्वका शीर्ष १० धनीमध्ये आठ जनाको नेटवर्थमा गिरावट आएको छ । मस्कपछि सबैभन्दा ठूलो क्षति ल्यारी पेजलाई भएको छ । गुगलका सहसंस्थापक पेजको नेटवर्थ ११.५ अर्ब डलरले घटेर ३०९ अर्ब डलरमा झरेको छ ।
त्यस्तै, उनका सहसंस्थापक सर्गेई ब्रिनको नेटवर्थमा १०.५ अर्ब डलरको कमी आएको छ । उनी २८८ अर्ब डलरको नेटवर्थसहित विश्वका धनी व्यक्तिको सूचीमा चौथो स्थानमा पुगेका छन् ।
जेफ बेजोस २९२ अर्ब डलरको नेटवर्थसहित तेस्रो स्थानमा छन् । यस वर्ष सबैभन्दा धेरै ९९.३ अर्ब नेटवर्थ थपेका माइकल डेल २३९ अर्ब डलरसहित पाँचौं स्थानमा छन् ।
त्यस्तै, मार्क जुकरबर्ग २१० अर्ब डलरसहित छैटौं, ल्यारी एलिसन १९७ अर्ब डलरसहित सातौं, जेन्सेन हुआङ १८२ अर्ब डलरसहित आठौं, स्टिभ बाल्मर १७१ अर्ब डलरसहित नवौं र बर्नार्ड आर्नो १६३ अर्ब डलरसहित दशौं स्थानमा छन् ।
भारत तथा एसियाका धनीमध्ये अग्रस्थानमा रहेका गौतम अडानी ११३ अर्ब डलरको कुल सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीमा १७औं स्थानमा छन् ।
अडानीको सम्पत्तिमा बुधबार २७.२ करोड डलर वृद्धि भएको छ । यस वर्ष उनको कुल सम्पत्ति २८.१ अर्ब डलरले बढेको छ ।
अर्कोतर्फ, अम्बानीको नेटवर्थमा बुधबार ५१.४ करोड डलरको गिरावट आएको छ । यस वर्ष भने उनको नेटवर्थ २२ अर्ब डलरले घटिसकेको छ ।