कांग्रेस महाधिवेशनको वैधानिकता टुंग्याउन सर्वोच्चमा आज पुनरावलोकन

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिने सर्वोच्च अदालतको निर्णयविरुद्ध परेको पुनरावलोकन निवेदनमाथि आज अध्ययन हुने भएको छ । 

जसका लागि सर्वोच्च अदालतमा तीन सदस्यीय पूर्ण इजलास गठन गरिएको छ । 

प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल रहेको इजलासले बिहीबार चेम्बरमै बसेर पुनरावलोकनको अनुमति (निस्सा) दिने वा नदिनेबारे निर्णय गर्ने भएका हुन् । 

यो चरणमा खुला इजलासमा सुनुवाइ हुने छैन । 

निवर्तमान सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै पुनरावलोकन निवेदन दर्ता गरेका थिए । 

यदि इजलासले निस्सा हुने आदेश दियो भने मुद्दाको सुनुवाइ तीन सदस्यीय पूर्ण इजलासबाट पुनः सुरुदेखि सुरु हुनेछ । 

निस्सा नहुने आदेश आएमा कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिने सर्वोच्चको अघिल्लो फैसला नै कायम रहनेछ ।

पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्चले ५ वैशाखमा वैधता प्रदान गर्दै फैसला गरेको थियो । 

Share News