काठमाडौं । नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवार छनोट भएका छन् ।
अर्थ मन्त्रालयले बिहीबार (आज) सार्वजनिक गरेको सूचनाअनुसार शैक्षिक योग्यता, कार्यअनुभव तथा व्यावसायिक र वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा पाँच जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि छनोट गरिएको हो ।
छनोट हुनेमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ का अर्जुनकुमार गौतम, काठमाडौं महानगर– ३२ पूरानो सिनामंगलका गोपाल घिमिरे, उदयपुरको लिमचुङ्गबुङ्ग गाउँपालिका २ का पर्वत कुमार काकी, काठमाडौंको टोखा नगरपालिका– ६ का यज्ञप्रकाश न्यौपाने र काठमाडौं महानगर– २८ की समता पन्त भट्टराई रहेका छन् ।
कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिको कार्यतालिकाअनुसार अर्जुनकुमार गौतमले साउन २५ गते बिहान ७ बजे, गोपाल घिमिरेले बिहान ८ बजे, पर्वत कुमार काकीले साँझ ५ बजे र यज्ञप्रकाश न्यौपानेले साँझ ६ बजे व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता दिनेछन् ।
समता पन्त भट्टराईको प्रस्तुति तथा अन्तर्वार्ता साउन २६ गते बिहान ८ बजे तोकिएको छ ।
सबै उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता अर्थ मन्त्रालय, सिंहदरबारमा हुने अर्थ मन्त्रालयले जनाएकाे छ ।
रिक्त कार्यकारी निर्देशक पद खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्न आवेदन माग गरिएको थियो ।
सोही प्रक्रियाअन्तर्गत उम्मेदवार छनोट गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।