कुमारीका ३ म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । कुमारी क्यापिटलले तीन वटा सामूहिक लगानी योजना (म्युचुअल फण्ड)को लाभांश घोषणा गरेको छ । कुमारी बैंक प्रवर्द्धक तथा कुमारी क्यापिटल योजना व्यवस्थापक एवं डिपोजिटरी रहेको कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्ड, कुमारी धनवृद्धि योजना र कुमारी सबल योजनाका इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने भएको हो ।

कुमारी इक्विटी फण्डका इकाईधनीलाई करसहित १० प्रतिशत अर्थात् १० करोड रुपैयाँ, कुमारी धनवृद्धि योजनाका इकाईधनीलाई करसहित १० प्रतिशत अर्थात् १२ करोड २५ लाख ७ हजार रुपैयाँ तथा कुमारी सबल योजनाका इकाईधनीलाई करसहित २.९० प्रतिशत अर्थात् २ करोड १५ लाख ९७ हजार रुपैयाँ नगद प्रतिफल घोषणा गरिएको हो । 

तीनै म्युचुअल फण्डको इकाईधनी दर्ता किताब भदौ ४ गते एक दिनका लागि बन्द गरिने भएको छ । त्यसैले भदौ ३ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम इकाईधनीहरुले उक्त प्रतिफल प्राप्त गर्नेछन् ।

यस्तै, आफ्नो इकाई धितो राखेका इकाईधनीले प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ वा फुकुवा पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने क्यापिटलले जनाएको छ । आवश्यक कागजात पेश गरेपछि मात्र प्रतिफल सम्बन्धित हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिने जनाएको छ । 

Share News