रिलायबल समृद्धि योजना–२ का साढे १२ करोड इकाइ नेप्सेमा सूचीकृत

काठमाडौं । रिलायबल समृद्धि योजना–२ का इकाइ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन् ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवर्द्धक, रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘रिलायबल सामूहिक लगानी कोष’ अन्तर्गत सञ्चालित उक्त योजना साउन २२ गते नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल धितोपत्र बोर्डबाट २०८३ वैशाख ३ गते सार्वजनिक निष्कासनको स्वीकृति पाएको योजनाको अन्तिम बाँडफाँट असार ४ गते सम्पन्न भएको थियो ।

यस बन्दमुखी सामूहिक लगानी कोषमा १२ करोड ५० लाख इकाइ रहेका छन् । प्रति इकाइ अंकित मूल्य १० रुपैयाँ र कुल कोष आकार १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । योजनाको अवधि १० वर्ष तोकिएको छ ।

योजनाका इकाइहरूको दोस्रो बजारमा कारोबार भने साउन २५ गतेदेखि सुरु हुनेछ ।

रिलायबल समृद्धि योजना–२ ले व्यावसायिक कोष व्यवस्थापनमार्फत लगानीकर्तालाई दीर्घकालीन पुँजी वृद्धि र सन्तुलित प्रतिफल उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।

Share News