देउवा पनि राष्ट्रिय भेलामा सहभागी हुने

फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म आयोजना गर्ने राष्ट्रिय भेलामा पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने जनाएको छ ।

भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी विवादमा पूर्वनिर्णय पुनरावलोकनका लागि निस्सा दिएपछि पार्टीभित्र नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको र त्यसले राष्ट्रिय भेलाप्रति कार्यकर्ताको उत्साह थप बढाएको उनले बताए ।

उनले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै अन्तिम न्यायिक निर्णयबाट आफूहरू न्याय पाउनेमा विश्वस्त रहेको उल्लेख गरे ।

अदालतको पछिल्लो आदेशले राष्ट्रिय भेलाको उद्देश्य वा कार्यदिशामा कुनै परिवर्तन नआएको, बरु पार्टीभित्र वैचारिक तथा सांगठनिक अभियानलाई थप बल पुगेको उनको भनाइ थियो ।

कोइरालाका अनुसार सुरुमा १० देखि २० हजार प्रतिनिधि तथा कार्यकर्ताको सहभागिता हुने अनुमान गरिएको भए पनि अदालतको आदेशपछि सहभागिता अपेक्षाभन्दा धेरै हुने संकेत देखिएको छ ।
 
उनले पार्टीका वरिष्ठ नेता पूर्णबहादुर खड्का स्वास्थ्य अवस्थाका कारण तथा नेता डा. शेखर कोइराला पूर्वनिर्धारित कार्यक्रमका कारण विराटनगरमा रहेकाले पत्रकार सम्मेलनमा उपस्थित हुन नसकेको स्पष्ट पारे । 

यद्यपि राष्ट्रिय भेलाप्रति दुवै नेताको पूर्ण समर्थन रहेको उनले बताए ।

साउन २६ गते पूर्वसभापति देउवा स्वदेश फर्कने क्रममा सम्भावित धरपकडको चर्चा भइरहेका बेला कोइरालाले त्यस्तो कुनै सम्भावना नरहेको दाबीसमेत गरे । 

यदि कुनै प्रकारको हस्तक्षेप वा धरपकडको प्रयास भए कांग्रेसले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी पनि उनले दिए ।

कोइरालाले मुलुकको वर्तमान राजनीतिक अवस्थाले कांग्रेसलाई वैचारिक रूपमा पुनः एकताबद्ध र सांगठनिक रूपमा पुनर्संरचना गर्नुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रिय भेला त्यस दिशामा महत्त्वपूर्ण मोड साबित हुने दाबी गरे।

उनले कांग्रेसका भातृ संस्था, शुभेच्छुक तथा देशभरका कार्यकर्तालाई भेलामा सक्रिय सहभागिताका लागि आह्वान गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल विचारलाई केन्द्रमा राखेर पार्टीलाई नयाँ ऊर्जा र नयाँ दिशा दिने अभियानका रूपमा राष्ट्रिय भेलालाई सफल बनाउन आग्रह गरे ।

Share News