गोकर्णेश्वरका बासिन्दाले ह्याम्स अस्पतालमा सहुलियतमा विशेषज्ञ स्वास्थ्य सेवा पाउने

काठमाडौं । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स अस्पताल) र गोकर्णेश्वर नगरपालिकाबीच नगरवासीलाई सहुलियतपूर्ण विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतापत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारी र गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसालले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, स्वास्थ्यकर्मी र सम्बन्धित अधिकारीको उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा ह्याम्स अस्पतालमा उपचार, शल्यक्रिया तथा अन्य स्वास्थ्य सेवा लिन आउने गोकर्णेश्वरका स्थायी बासिन्दाले विभिन्न विशेषज्ञ स्वास्थ्य सेवामा विशेष छुट र सहुलियत पाउनेछन् ।

दुवै पक्षका अनुसार सहकार्यले आर्थिक रूपमा उपचार गर्न कठिनाइ भएका नागरिकलाई राहत पुग्नुका साथै गुणस्तरीय विशेषज्ञ उपचारमा पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ ।

सम्झौताको उद्देश्य स्थानीय तहमा स्वास्थ्य सेवाको सुदृढीकरण, नियमित स्वास्थ्य परीक्षणको प्रवर्द्धन, स्वास्थ्य सचेतना अभिवृद्धि तथा दीर्घरोगको समयमै पहिचान र उपचारमा सहयोग गर्नु रहेको जनाइएको छ ।

कार्यक्रममा ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले स्थानीय सरकारसँगको सहकार्यबाट नागरिकसम्म गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा अझ प्रभावकारी रूपमा पुर्याउन सकिने बताए । समुदायमा नियमित स्वास्थ्य परीक्षण, रोगको समयमै पहिचान र उपचारको पहुँच विस्तारमा अस्पताल प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

नगरप्रमुख रिसालले पनि सम्झौताले गोकर्णेश्वरका नागरिकलाई सहुलियत दरमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । यसबाट उपचारको आर्थिक भार कम हुनुका साथै जनस्वास्थ्य प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनले बताए ।

ह्याम्स अस्पतालले मुटु तथा रक्तनली रोग, न्युरो साइन्स, क्यान्सर, अर्थोपेडिक्स, युरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी र क्रिटिकल केयरलगायत विभिन्न विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।

Share News