नाइमा अटो एक्स्पोमा डोङफेङका दुई बस सार्वजनिक हुँदै

काठमाडौं । हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङका दुई बस नेपालमा सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाइमा अटो एक्स्पोमा बसका दुई मोडल सार्वजनिक गर्ने जनाएको छ ।

डोङफेङ चीनको सरकारी स्वामित्वमा रहेको अग्रणी अटोमोबाइल कम्पनी हो । कम्पनीले बस, ट्रक, विद्युतीय सवारीसाधन, व्यावसायिक सवारी तथा विशेष प्रयोजनका सवारी उत्पादन गर्दै आएको छ । यसको उत्पादन १०० भन्दा बढी देशमा निर्यात हुँदै आएको कम्पनीले जनाएको छ ।

नेपालमा विद्युतीय ठूला बसप्रति बढ्दो मागलाई ध्यानमा राख्दै डोङफेङका बस भित्र्याइएको कम्पनीको भनाइ छ । पहिलो चरणमा ७.२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका बस सार्वजनिक गरिनेछ । त्यसपछि ३८ र ५२ सिट क्षमताका ९ र १२ मिटरका बस पनि नेपाल ल्याइने कम्पनीले जनाएको छ ।

बसको मूल्य र विस्तृत प्राविधिक विवरण भने अटो एक्स्पोमै सार्वजनिक गरिने कम्पनीले जनाएको छ । अन्य कम्पनीका समान क्षमताका बसभन्दा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराइने दाबी पनि गरिएको छ । एक्स्पोमै बुकिङ गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था रहने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको सुविधा हिमालयन अर्गनाइजेशनअन्तर्गतका शाखा तथा डिलरमार्फत देशभर उपलब्ध हुनेछ ।

Share News