काठमाडौं । उद्योग विभागले ट्रेडमार्कको गैरकानुनी प्रयोगसम्बन्धी उजुरी परेका दुई कम्पनीलाई लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ । विभागले युनिक लिक्विड सप एण्ड डिटर्जेन्ट्स प्रोडक्ट्स र चौतारी सोप इन्डष्ट्रिजलाई ७ दिनभित्र आफ्ना सबुद प्रमाणसहित लिखित प्रतिक्रिया पेश गर्न र उपस्थित हुन निर्देशन दिएको हो ।
मोरङको विराटनगर महानगरपालिका–४ स्थित युनिक लिक्विड सप एण्ड डिटर्जेन्ट्स प्रोडक्ट्स र सुनसरीको सोनापुरस्थित चौतारी सोप इन्डष्ट्रिजले गैरकानुनी रुपमा फेना ट्रेडमार्क प्रयोग गरेको भन्दै विभागमा उजुरी परेको थियो ।
भारतको फेना प्राइभेट लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता कृष्ण ट्रेडस भएको दाबी गरिएको छ । विभागले यसअघि ७ दिने म्याद सूचना पठाएको भएपनि हालसम्म कुनै लिखित प्रतिक्रिया पेश नभएको तथा म्याद तामेली प्रतिवेदनसमेत प्राप्त नभएको जनाएको छ ।
विभागले सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र लिखित प्रतिक्रिया प्राप्त नभएमा प्रचलित कानूनबमोजिम प्रक्रिया अघि बढाइने चेतानी दिएको छ । साथै, पछि कुनै उजुरी गर्न नपाउनेसमेत विभागको भनाइ छ ।