काठमाडौं । नेपाल दुर सञ्चार प्राधिकरणले पल्स रेटपछि ल्याण्ड लाइन फोन र पोष्टपेड मोबाइलको शुल्क घटाउने तयारी थालेको छ ।
प्राधिकरणले उपभोक्तालाई अनावश्यक आर्थिक भार परेको भन्दै ल्याण्ड लाइन फोन र पोष्टपेड मोबाइलको शुल्क घटाउन लागेको हो ।‘उपभोक्तालाई अनावश्यक भार परेको निष्कर्षसहित ल्याण्ड लाइन(पिएसटिएन) र पोष्टपेडको शुल्क घटाउने तयारीमा जुटेका छौं’, प्राधिकरणका निर्देशक दिपेश आचार्यले विकासन्युजसँग भने ।
हाल पोष्टपेड मोबाइलको न्युनतम(भ्वाइसका लागि मात्रै) शुल्क ३०० र मल्टिपल सर्भिसका लागि थप एक सय रुपैंयाँ तिर्नुपर्छ । त्यस्तै, ल्याण्डलाइन(पिएसटिएन)को न्युनतम शुल्क २०० रुपैंयाँ तोकिएको छ । उपभोक्ताले सेवा प्रयोग गरेपनि नगरेपनि मासिक रुपमा सो शुल्क भने तिर्नै पर्ने व्यवस्था रहेको छ । हाल टेलिकमको ६ लाख ८३ हजार १ सय २९ वटा ल्याण्डलाइन फोन सञ्चालनमा रहेका छन् भने पोष्टपेड मोबाइलका प्रयोग कर्ता साढे ३ लाख रहेको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले बताए ।
‘फोन गरेपनि नगरेपनि त्यति धेरै शुल्क लिने कुरा ठिक भएन, त्यसैले उपभोक्ताको हितलाई ध्यानमा राखेर हामी शुल्क घटाउने तयारीमा जुटेका हौं’, आचार्यले भने । उनले पोष्टपेड सिम बोक्ने उपभोक्ताले महिनौंसम्म फोन नचलाउँदा पनि पैसा तिर्नु परेको र एउटै घरमा पाँच छ वटासम्म ल्याण्ड लाइन रहेकाले उपयोग नहुँदा पनि उपभोक्ता मारमा परेको बताए ।
न्युनतम शुल्क समायोजनसहित प्रतिकल शुल्क समेत घटाउने तयारीमा प्राधिकरण जुटेको हो ।