ठमेलमा ‘मार्लो होटल’ जसले दिन्छ फाइभस्टारको सुविधा

काठमाडौं । पर्यटन तथा आतिथ्य क्षेत्रमा नयाँ लगानी थपिँदै गएको छ । पर्यटकीय क्षेत्र ठमेलमा ‘मार्लो होटल’ सञ्चालनमा आएको छ । करिब ५ करोडको लगानीमा निर्माण गरिएको होटलले पाहुनालाई स्वागत तथा सेवा गर्दै आइरहेको छ । होटलमा विभिन्न तहका गरेर ३६ वटा कोठा रहेका छन् । 

गेष्टको आवश्यकता र बजेटअनुसार कोठाको सुविधा तथा मूल्य निर्धारण गरिएको होटलका निर्देशक अभी ढकालले जानकारी दिए ।

ढकालका अनुसार मार्लो होटलमा स्ट्यान्डर्ड डबल रुमदेखि स्वीट अपार्टमेन्टसम्मका कोठा उपलब्ध छन् । होटलका कोठाको मूल्य न्यूनतम ३ हजार रुपैयाँदेखि अधिकतम १० हजार रुपैयाँसम्म रहेको छ ।

होटलमा स्ट्यान्डर्ड डबल रुम ६ वटा छन्, जसको मूल्य प्रतिरात ४ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, स्ट्यान्डर्ड ट्विन रुम ६ वटा रहेका छन् भने यसको मूल्य ४ हजार ५ सय रुपैयाँ रहेको छ ।

त्यसैगरी, डिलक्स फेमिली र डिलक्स थ्री–बेड गरी ६ वटा कोठा रहेका छन् । होटलमा प्रिमियर फेमिली रुम ६ वटा र प्रिमियर किङ रुम ६ वटा छन्। दुवै श्रेणीका कोठाको मूल्य प्रतिरात ६ हजार रुपैयाँ रहेको छ ।

होटलको विशेष आकर्षणका रूपमा स्वीट अपार्टमेन्ट समेत रहेको छ । ६ वटा स्वीट अपार्टमेन्ट रहेको होटलमा यसको मूल्य प्रतिरात १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

मार्लो होटलका कोठाहरू आकारका हिसाबले पनि फरक–फरक छन् । होटलमा करिब १८५ वर्गफिटदेखि ६ सय वर्गफिटसम्मका कोठा उपलब्ध रहेको निर्देशक ढकालले जानकारी दिए ।

ठूलो आकारका कोठा परिवार तथा लामो समय बस्ने पाहुनालाई लक्षित गरी तयार पारिएको ढकालको भनाइ छ ।
होटलले विभिन्न प्रयोजनका लागि आउने स्वदेशी तथा विदेशी पाहुनालाई लक्षित गरेको छ ।

व्यवसायिक कामका लागि आउने, पारिवारिक भ्रमणमा रहेका तथा लामो समय बस्न चाहने पाहुनालाई एउटै होटलमा फरक–फरक श्रेणीको आवास सुविधा उपलब्ध गराउने उद्देश्य रहेको ढकाल बताउँछन् ।

भारत, बंगलादेशी, चीन तथा एशियन मुलुक र युरोपेयिन एवम अमेरिकन सबै मुलुकका पर्यटकहरू होटलमा आउने गरेको उनले जानकारी दिए ।

होटल सञ्चालनका लागि हाल २५ जना कर्मचारी कार्यरत छन् । आतिथ्य सेवाको गुणस्तर कायम गर्दै पाहुनालाई सहज र आरामदायी वातावरण प्रदान गरिरहेको उनी बताउँछन् ।

करिब ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको होटलले आवासीय सुविधासँगै पर्यटन तथा आतिथ्य क्षेत्रको बढ्दो मागलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

'पाहुनाको आवश्यकता र बजेटअनुसार फरक–फरक श्रेणीका कोठा उपलब्ध गराएका छौं । गुणस्तरीय सेवा र आरामदायी वातावरणमार्फत पाहुनाको रोजाइको होटल बन्ने हाम्रो लक्ष्य हो,’ निर्देशक अभी ढकाल भन्छन् ।

मार्लो होटलले फरक मूल्य र सुविधाका कोठामार्फत बजेटदेखि प्रिमियम वर्गसम्मका पाहुनालाई समेट्ने प्रयास गरेको छ । ३६ कोठा, विभिन्न तहका आवास सुविधा र २५ जना कर्मचारी भएको होटलले पाहुनाको सेवा गरेर आफ्नो पहिचान स्थापित गर्ने लक्ष्य राखेको उनले बताए ।

Share News