काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको मिति घोषणा गरेको छ ।
क्यानले शनिबार विज्ञप्ति जारी गर्दै एनपीएल आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।
यसअघिका दुई संस्करण मङ्सिरमा आयोजना हुँदै आएपनि तेस्रो संस्करण भने दशैं र तिहारको बीचमा हुन लागेको हो ।
प्रतियोगिताको विस्तृत खेल तालिका भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
क्यान स्रोतका अनुसार तिहारका दुई दिनलाई छाडेर अन्य दिन नियमित रूपमा खेल सञ्चालन गर्ने तयारी भइरहेको छ ।
एनपीएलका लागि खेलाडीको अक्सन प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ । अक्सनबाट खेलाडी छनोट गरिसकेका फ्रेन्चाइज टोलीहरू अहिले आफ्नो टोलीलाई थप बलियो बनाउने तयारीमा जुटेका छन् ।
विशेषगरी विदेशी खेलाडी अनुबन्धको प्रक्रिया अहिले तीव्र पारिएको एक फ्रेन्चाइजी सदस्यले जानकारी दिए ।
उनका अनुसार सहभागी टोलीहरूले एनपीएलका लागि आवश्यक विदेशी खेलाडी छनोट तथा अनुबन्धलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन् ।