काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो र नयाँ पुस्ताबीचको दूरी कम गर्दै सबै पक्षलाई समेटेर १५औं महाधिवेशन निष्पक्ष रूपमा सम्पन्न गर्न आफू तयार रहेको बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले निवर्तमान सभापति शेरबहादुर देउवासहित पूर्वकार्यसमितिका सबै नेताप्रति आफ्नो सम्मान रहेको बताए । महाधिवेशनलाई विश्वसनीय, निष्पक्ष र सबैको सहभागिता सुनिश्चित हुने बनाउन आवश्यक पर्ने काम गर्न आफू तयार रहेको उनको भनाइ छ ।
पार्टीभित्रको कुनै पक्षले दबाब, डर वा प्रलोभनको माध्यमबाट निर्णय प्रभावित पार्न खोजे आफू त्यसबाट पछि नहट्ने उनको भनाइ छ । तर, समावेशी र निष्पक्ष महाधिवेशनको तयारीलाई आफ्नो नेतृत्व कमजोर पार्ने प्रयासका रूपमा प्रयोग गर्न खोजिए त्यसलाई स्वीकार नगर्ने सन्देश पनि थापाले दिए ।
उनले पार्टीभित्र चार पुस्ताको सहभागिता रहेको उल्लेख गर्दै सबै पुस्ता र समूहलाई साथ लिएर अघि बढ्नुपर्ने बताए । विधानले निर्धारण गरेको सीमाभित्र रहेर संवाद र सहमतिका आधारमा पार्टी सञ्चालन गर्ने उनको प्रतिबद्धता छ ।
थापाले आफ्नो धारणा स्पष्ट पार्दै आफूलाई दबाबमा पारेर निर्णय परिवर्तन गराउन नसकिने संकेत गरे । पार्टीभित्रको एकता आवश्यक भए पनि त्यो डर, दबाब वा व्यक्तिगत स्वार्थका आधारमा नभई विधि र विश्वासका आधारमा कायम हुनुपर्ने उनको भनाइ थियो ।
उनले विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका आधारमा पार्टीका नेता तथा कार्यकर्तामाथि विभेद नगर्ने बताए । आगामी असोजमा १५औं महाधिवेशन गर्ने तयारी भइरहेको उल्लेख गर्दै क्रियाशील सदस्यता अद्यावधिकलगायत प्राविधिक विषयका कारण केही तहका अधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने उनको संकेत छ ।
थापाले पार्टीमा सबै पक्षसँग संवाद भइरहेको पनि बताए । उनका अनुसार कांग्रेसमा विगतका पुस्ताका अनुभव र नयाँ पुस्ताको अपेक्षा दुवैलाई समेटेर अघि बढ्नु आवश्यक छ ।
कांग्रेसको विशेष महाधिवेशनको वैधानिकतालाई लिएर सर्वोच्च अदालतमा पुगेको विवादप्रति पनि थापाले पार्टी नआत्तिने बताएका छन् । विशेष महाधिवेशन पार्टीको विधानअनुसार नै सम्पन्न भएको र निर्वाचन आयोगले समेत त्यसलाई कानुनबमोजिम अभिलेखमा अद्यावधिक गरेको उनले स्मरण गराए ।
पार्टीको निर्णयप्रति असन्तुष्ट केही व्यक्ति अदालत पुगेको र प्रारम्भिक चरणमा अदालतबाट विशेष महाधिवेशनकै पक्षमा निर्णय आएको उनको दाबी थियो। अहिले असन्तुष्ट पक्षले पुनरवलोकनका लागि निवेदन दिएको र सर्वोच्चले त्यसलाई अनुमति दिएको विषयलाई उनले सामान्य न्यायिक प्रक्रियाका रूपमा व्याख्या गरे ।
उनका अनुसार कांग्रेस कानुनी रूपमा आफ्नो पक्षमा बलियो रहेको छ । तर, अदालतमा हुने कानुनी लडाइँभन्दा पनि पार्टीभित्रका नेता–कार्यकर्ताबीचको विश्वास र एकता अझ महत्वपूर्ण रहेको उनले बताए । ‘कानुनी रूपमा बलियो हुनु एउटा कुरा हो, तर पार्टीभित्रको विश्वास र भरोसा अझ ठूलो शक्ति हो,’ उनले भने ।
थापाले कांग्रेसभित्रको अर्को गम्भीर समस्या पनि बैठकमा उठाए । पछिल्लो निर्वाचनमा पार्टीको जिम्मेवारीमा रहेका कतिपय नेता तथा कार्यकर्ताले नै कांग्रेसको चुनाव चिह्न रुखमा मत नदिएको विषय आफूहरूको जानकारीमा रहेको उनले बताए ।
सरकारको कार्यशैलीबारे चर्चा गर्दै थापाले अहिले नागरिक तहमा तीन प्रकारका प्रतिक्रिया आफूले पाएको बताएका छन् । नागरिकसँगको संवादका क्रममा आफूले अनिश्चितता, हतास र आक्रोश तीनवटै मनोविज्ञान देखेको उनले बताए ।
कतिपय नागरिकमा अहिले के हुन्छ भन्ने अन्योल रहेको, केहीमा विगतमा पनि राम्रो नभएको, वर्तमानमा पनि सुधार नदेखिएको र भविष्यप्रति समेत आशा कमजोर भएको अवस्था रहेको उनले बताए। अर्कोतर्फ, सरकार र राजनीतिक नेतृत्वप्रति प्रत्यक्ष आक्रोश बोकेका नागरिक पनि भेटिएको उनको भनाइ थियो ।
उनले पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट आएका अभिव्यक्तिसमेत यही नागरिक मनोविज्ञानको पृष्ठभूमिमा आएको हुन सक्ने विश्लेषण गरे ।
थापाले विगतको राजनीतिक घटनाक्रम सम्झाउँदै नागरिकमा बढेको असन्तुष्टिलाई राजनीतिक दलहरूले समयमै बुझ्न नसकेको बताए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वप्रति नागरिक असन्तुष्ट रहेको कुरा आफूले भदौ ८ गते नै संसद्मा उठाएको स्मरण गरे ।
त्यतिबेला जनताको असन्तुष्टिलाई गम्भीर रूपमा लिनुपर्ने आफ्नो चेतावनीलाई बेवास्ता गरिएको उनको भनाइ थियो ।
थापाका अनुसार जनताको असन्तुष्टिलाई बेवास्ता गरेर केवल निर्वाचन जितेको आधारमा शासन चलाउन खोज्दा त्यसको प्रतिक्रिया गम्भीर हुन सक्छ । वर्तमान सरकारको कार्यशैलीमाथि आक्रामक टिप्पणी गर्दै थापाले मुलुकमा ‘शासकीय अराजकता’ बढ्दै गएको आरोप लगाए ।
थापाले सरकार आफ्नो बाटोबाट विचलित हुँदै गएको र त्यसलाई खबरदारी गरेर विधिको बाटोमा फर्काउने जिम्मेवारी विपक्षी दलको भएको बताए । उनका अनुसार सरकारलाई नियन्त्रण गर्ने उद्देश्यले मात्र होइन, राज्य सञ्चालनको संवैधानिक सीमालाई जोगाउन पनि कांग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको छ ।
आफूमाथि पार्टीकै केही साथीहरूले प्रयोग गरेका कठोर शब्द र आलोचनाका विषयमा परिवारभित्र समेत चर्चा हुने गरेको उनले बताए । तर, आफूलाई समर्थन गर्ने र माया गर्ने कार्यकर्ता तथा शुभेच्छुकहरू देशभर फैलिएको उल्लेख गर्दै उनले आफूलाई प्राप्त जनसमर्थनप्रति विश्वास व्यक्त गरे ।