इन्टर्न चिकित्सक हरिजनले तोडे अनसन

सरकारसँग पाँचबुँदे सहमति

काठमाडौं । सरकारसँगको पाँचबुँदे सहमतिपछि एमबीबीएस इन्टर्न विद्यार्थी डिल्ली हरिजनले अनसन तोडेका छन् । 

सरकारी वार्ता टोली र इन्टर्न विद्यार्थीबीच सहमति भएपछि उनले अनसन तोडेका हुन् ।

सहमतिअनुसार सरकारी तथा निजी मेडिकल कलेजमा अध्ययनरत एमबीबीएस इन्टर्न चिकित्सकलाई स्वास्थ्य सेवाको आठौं तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयलाई प्राथमिकताका साथ अघि बढाइने भएको छ । 

यसका लागि साउन २८ गते शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय, निजी मेडिकल कलेजका प्रतिनिधि र आन्दोलनरत इन्टर्न चिकित्सकबीच विस्तृत छलफल गरिनेछ । 

यी विषय आयोगको बैठकमा एजेन्डाका रूपमा प्रस्तुत गर्ने सहमति भएको छ ।

त्यस्तै, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम आयोगको बैठकमा स्टाइपेन्ड अभियन्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने तथा श्रम ऐन, २०७४ अनुसार इन्टर्न र आवासीय चिकित्सकका लागि समान कार्यघण्टा लागू गर्न समिति गठन गरी प्रतिवेदन तयार गर्ने सहमति भएको छ ।

त्यस्तै, सरकारी तथा निजी मेडिकल कलेजले विभिन्न शीर्षकमा असुलेका अतिरिक्त शुल्क छानबिन गरी नियमानुसार फिर्ता गर्ने व्यवस्था कार्यान्वयन गर्ने र एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीका लागि छात्रावास बसाइलाई वैकल्पिक बनाउने आयोगको परिपत्र प्रभावकारी रूपमा लागू गर्ने विषय पनि सहमतिमा समेटिएको छ ।

Share News