काभ्रेबाट बेपत्ता दम्पतीमध्ये तिलकुमारीको शव ओखलढुंगामा फेला

काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिका- ८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बेपत्ता भएका दम्पतीमध्ये वृद्धाको शव ओखलढुंगामा फेला परेको छ ।

मण्डनदेउपुर नगरपालिका- ७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव आइतबार (आज) ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको हो ।

स्थानीयले सुनकोशी नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार सुनकोशी नदीमा फेला परेको शवको हुलिया काभ्रे पठाइएको थियो । 

आफन्तले शव तिलकुमारीकै भएको पहिचान गरेका छन् । थप पुष्टिका लागि उनका आफन्त ओखलढुंगा पुगेका छन् ।

तिलकुमारीसँगै बेपत्ता भएका उनका श्रीमान् ६८ वर्षीय केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात छ ।

पराजुली दम्पती बुधबार साँझ दोलालघाटबाट बेपत्ता भएका थिए । उनीहरू बेपत्ता भएपछि प्रहरीले खोजीका लागि टोली परिचालन गरेको थियो ।

प्रहरीले केदारनाथको खोजी जारी राखेको जनाएको छ ।

Share News