बचत तथा ऋण सहकारी अभियान र बचत तथा ऋणको कारोबार अहिले दोबाटाका दौंतरीका रूपमा आमनेसामने भएको अवस्था अनुभूत गर्न सकिन्छ । भोलिको गन्तव्य कति सुन्दर वा कति कठिन र चुनौतीपूर्ण हुनेछ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन । तर, कानूनले अभियान र कारोबारलाई दोबाटाका दौंतरी बनाइदिएको छ । सहकारी ऐनको कार्यान्वयन कति प्रभावकारी हुन्छ र त्यसको प्रभाव बचत तथा ऋण सहकारी अभियानमा कति दूरगामी रूपमा पर्छ भन्ने कुरा अब हेर्न बाँकी छ ।
हामीलाई थाहा छ, सहकारी र सहकारिता समाज रहेसम्म रहिरहन्छन्, स्वरूप मात्र परिवर्तन हुन्छ । सहकारीको जननी जनताको सहकार्यको परिणाम हो । यसको कुनै विकल्प छैन । सहकार्यको संस्कार र सहकार्यमा आधारित अर्थव्यवस्थाको कल्पना लोकतन्त्रको सुन्दर सपना हो । यो लाखौँ परिवारको समुन्नतिको आधार पनि हो । चक्रीय अर्थव्यवस्थाको सबैभन्दा बलियो मोडल नै सहकारी हो । समुदाय र सदस्यसँग सहकार्य गर्दै अघि बढेको यात्रा आज दोबाटोमा आइपुगेको देखिन्छ । यसले सहयात्राका दुई बाटा स्पष्ट रूपमा कोरेको छ । विशेषगरी संघहरूको वित्तीय कारोबारलाई नितान्त बैंकिङ कारोबारका रूपमा परिभाषित गर्दै अप्रत्याशित रूपमा फेरि बैंकमा रूपान्तरण गर्ने बाटो खोलिएको छ ।
सहकारी संघहरू
प्राकृतिक व्यक्तिहरूको संगठनका रूपमा सहकारीको विकास भएको हो । व्यक्तिहरू मिलेर स्वेच्छिक रूपमा सहकारी गठन गरेका हुन् । आर्थिक सहभागिता र लोकतन्त्र यसका प्रमुख माध्यम हुन् । सहकारीहरू मिलेर बनेका जिल्ला, प्रदेश र केन्द्रीय संघहरू कानूनी व्यक्तिहरूले विकास गरेका संगठन हुन् । जिल्ला, प्रदेश र केन्द्रीय संघहरू आपसमा मिलेर अर्को तहको संगठन वा बैंक बन्न सक्ने आशयको विधायन तयार भएको छ ।
आजसम्म बनेका विभिन्न कार्यदल, समिति, आयोग वा सोही स्वरूपमा गरिएका अन्य अध्ययनहरूको निष्कर्षमा बचत तथा ऋण सहकारी अभियानको समस्याका रूपमा संघहरूको कारोबारलाई मात्र देखाइएको पाइन्छ । यही कारण अभियान र वित्तीय कारोबार अलग गर्ने विधायिकी आधार तयार भएको छ, जुन सहकारी अभियानका लागि नयाँ यथार्थका रूपमा आएको छ । सोही विधायनका आधारमा अभियान र कारोबार अलग गर्ने दोबाटो देखिएको छ ।
आज दोबाटोका यात्रीले अगाडिका दुवै बाटाबाट पुगिने गन्तव्य स्पष्ट रूपमा देख्न सकेका छैनन् । आफ्नै सिर्जना, उपलब्धि र सपना छोडेर व्यावसायिक विकास र सुरक्षाको नाममा सहकारिताको सन्दर्भ विलीन हुने जोखिम पनि देखिएको छ ।
आज दोबाटोका यात्रीले अगाडिका दुवै बाटाबाट पुगिने गन्तव्य स्पष्ट रूपमा देख्न सकेका छैनन् । आफ्नै सिर्जना, उपलब्धि र सपना छोडेर व्यावसायिक विकास र सुरक्षाको नाममा सहकारिताको सन्दर्भ विलीन हुने जोखिम पनि देखिएको छ ।
बिग्रिएको आर्थिक अवस्थाका कारण थला परेका सदस्यहरूको उद्यम, थातथलो छोडेको जनसमुदाय र विश्वव्यापीकरणले संकुचित बनाएको संस्कृतिको पृष्ठभूमि बोकेर आज बचत तथा ऋण सहकारी अभियान दोबाटोमा उभिएको छ । बचत तथा ऋण सहकारी अभियानको गौरवपूर्ण अतीत बोकेर सुन्दर भविष्यका लागि यात्रामा निस्किएका यात्रीहरूका बीचमा आएको दोबाटोले गन्तव्य नै फेरिदिएको छ ।
आजसम्म हामी अनभिज्ञ छौं, गन्तव्य टाढा छ, नजिक छ वा सँगै छ भन्ने स्पष्ट भन्न सकिने अवस्था छैन । नङ र मासुजस्तै विकास भएको अभियान र वित्तीय कारोबार अलग भएको महसुस भएको छ । संघको कारोबार आवश्यक थियो वा थिएन, सुरक्षित थियो वा थिएन भन्ने प्रश्नभन्दा पनि बचत तथा ऋण सहकारी अभियानका लागि वर्षामा ओत आवश्यक थियो र आजसम्म त्यो भूमिका संघहरूको कारोबारले प्रदान गर्दै आएको थियो । बचत तथा ऋण सहकारी अभियानको विस्तार र वृद्धिको आधार नै संघहरूको कारोबार थियो । अभियानको स्रोत अभियानमै परिचालन भएको थियो ।
बचत तथा ऋण सहकारीको स्रोत परिचालन र त्यसबाट प्राप्त हुने प्रतिफलको स्वरूप आज दोबाटोबाट स्पष्ट देखिएको छैन । समावेशी वित्त, मानवतामा आधारित बैंकिङ वा समुदायको वित्तीय संस्थाका रूपमा परिभाषित गरिए पनि यो सहकारिताको डीएनएमा बनेको प्रणाली हो । सहकारी संघहरूको भोलि पनि आवश्यकता छ ।
बचत तथा ऋण सहकारी अभियानले आज पनि दोबाटो खोजेको थिएन, उसले बलियो सहयात्री खोजेको थियो । तर, जसलाई सहयात्री ठानिएको थियो, नियतिले त्यहीँबाट दोबाटो देखाइदिएको छ । गन्तव्य फेरिएको छ । संघको आकार, जिम्मेवारी, उद्देश्य र अपेक्षा भने फेरिएका छैनन् ।
देशभर बहु तह-केन्द्र, प्रदेश र जिल्लामा-सहकारी संघहरूले करिब ९० अर्ब रुपैयाँ बराबरको बचत परिचालनसहित एक खर्ब रुपैयाँको हाराहारीमा कुल सम्पत्ति परिचालन गरेको देखिन्छ । यो हाल सञ्चालनमा रहेको सहकारी बैंकको करिब दोब्बर आकार मान्न सकिन्छ । यसले वित्तीय सहकारी अभियानको सन्तुलन र सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । बचत तथा ऋण सहकारी अभियान र कारोबारको विखण्डनले खोजेको उद्देश्य अल्पकालीन पनि सावित हुन सक्छ ।
वित्तीय कारोबार
फेरि बदलिएको समाज र त्यसबाट उत्पन्न अपेक्षाका कारण प्रविधिमा आएको आमूल परिवर्तनको प्रभाव वित्तीय क्षेत्रमा परेको छ । त्यसैले वित्तीय कारोबारको भविष्य पनि चुनौतीपूर्ण देखिन्छ । डिजिटल मुद्राको अवधारणा कार्यान्वयनमा आउने विषयमा सहकारी बैंकको मुख्य भूमिका हुनेमा द्विविधा छैन । वित्तीय क्षेत्र सुधारको दोस्रो योजनाले पनि यस विषयलाई स्वीकार गरेको छ ।
विधिले देखाएको दोबाटोले अब बचत तथा ऋण सहकारी क्षेत्रलाई औपचारिक वित्तीय कारोबारको क्षेत्रका रूपमा स्थापित गरेको छ । तर, बचत तथा ऋण सहकारी क्षेत्रको वित्तीय स्रोत सहकारीका सदस्यहरूबीच नै परिचालन हुन आवश्यक छ । त्यस्तो स्रोत बचत तथा ऋण सहकारी संस्थाहरूको संरक्षण र सुदृढीकरणमा उपयोग हुनु आवश्यक छ । सहकारीको डिएनएसहितको सहकारी बैंक हुनुपर्छ ।
एकातर्फबाट हेर्दा संघहरूले सयबाट सुरु गरेको कारोबारलाई समुन्नत बैंकमा रूपान्तरण गर्ने अवसर प्राप्त भएको छ । संघहरू आपसमा मिलेर बन्ने बैंक नै वित्त व्यवस्थापनको आधार बन्न सक्छ । वित्तीय कारोबारमा विद्यमान जोखिम व्यवस्थापन पनि सहकारीको सिद्धान्तअनुसार मात्र प्रभावकारी रूपमा सम्भव हुन्छ । सहकारीको वित्तीय कारोबारको सुरक्षा पनि सुरक्षित र सक्षम संस्थाहरूले मात्र गर्न सक्छन् । संघहरूको वित्तीय कारोबारको संकुचन र क्षेत्रगत सुरक्षाबीच अन्तरसम्बन्ध छ ।
बचत तथा ऋण सहकारीहरू वित्तीय संस्था हुन् । यिनको आकार, कारोबार र प्रणालीगत स्थिरताका लागि संघको भूमिका विहीन भएर सोच्न सकिँदैन । बैंकले गर्ने कारोबार र संघले गर्ने संरक्षण फरक विषय हुन् । संघको चासो, चिन्ता र अपेक्षा नाफा होइन, अभियानको स्थिरता हो ।
वित्तीय कारोबार र बैंकलाई समान स्वरूपमा स्वीकार गरिएको अवस्थामा अभियानले अब सोच्ने बेला आएको छ । कठिन समयको सामना सामूहिक रूपमा गर्न आवश्यक छ । बसाइँ सरेर मात्र समस्याको समाधान हुन सक्दैन । बलियो नियामक र लचिलो प्रणालीभित्र रहेर संघहरूले आफ्नो भूमिका विस्तार गर्न सक्छन् भन्ने विश्वास अझै कायम छ ।
बचत तथा ऋणको कारोबार गरिरहेका सहकारी संघहरूले हिजोको आवश्यकताको आधारमा गर्दै आएको कारोबारलाई भोलिको रूपान्तरणको मार्गका रूपमा अघि बढाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
विकल्पको कल्पना
बचत तथा ऋण सहकारी अभियान वित्तीय कारोबारमा आधारित अभियान हो । यस क्षेत्रमा जोखिमका सयौँ पाटा छन् । अभियानले आजसम्म गरेको संरक्षणलाई राज्यले आफ्नो जिम्मेवारीका रूपमा लिन थालेको छ । यो अभियानका लागि खुसीको विषय पनि हो । संघहरूले सदस्यहरूसँग गर्दै आएको वित्तीय कारोबारको माध्यम सहकारी बैंक बन्ने व्यवस्था भएपछि पनि संघहरूको विकल्प समाप्त भएको छैन । संघहरूको भूमिका कमजोर भएको पनि छैन । सहकारी अभियानको संरक्षणका लागि संघहरूको भूमिका आवश्यक छ ।
तालिम, शिक्षा, क्षमता विकास र सहकारी सिद्धान्तको कार्यान्वयन संघका आधारभूत काम हुन् । सदस्य संस्थाहरूको संस्थागत क्षमता विकास, वित्तीय अनुशासन र सहकारी मूल्य-मान्यताको संरक्षणमा पनि संघहरूको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।
सहकारी ऐन, २०७४ मा हालसालै भएको संशोधनमार्फत आएको सहकारी संघसम्बन्धी व्यवस्थाले सहकारी संघहरूको कारोबारमा रूपान्तरण खोजेको छ । बचत तथा ऋणको कारोबार गरिरहेका सहकारी संघहरूले हिजोको आवश्यकताको आधारमा गर्दै आएको कारोबारलाई भोलिको रूपान्तरणको मार्गका रूपमा अघि बढाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
संशोधित ऐन लागू भएको मितिले तीन वर्षसम्म साविकको बचत तथा ऋण कारोबारलाई निरन्तरता दिन सकिने र त्यस अवधिभित्र वैकल्पिक व्यवस्थामा जानुपर्ने नीतिगत व्यवस्था गरिएको छ । वित्तीय कारोबार गर्ने संघहरू आपसमा मिलेर अलग्गै सहकारी बैंक गठन गर्ने वा साविककै सहकारी बैंकमा कारोबार एकीकरण गर्ने विकल्प संस्थाहरूलाई दिइएको छ ।
यसबाट केही संघहरू एकीकरणमा जाने र केहीले नयाँ सहकारी बैंक खोल्ने सम्भावनालाई पनि अस्वीकार गरिएको छैन । संघहरूले सहकारी ऐनको व्यवस्थाबमोजिम विनियममा व्यवस्था गरेर गरिरहेको कारोबारलाई सहकारी बैंकमा रूपान्तरण गर्ने विकल्प राज्यले दिएको मान्न सकिन्छ । तर, संघहरू शून्य हुन सक्दैनन् ।
आर्थिक सहभागिता
सहकारी संघहरू गैरसरकारी संस्था (एनजीओ) वा बैंकर्स एसोसिएसनजस्ता संस्था होइनन् । उनीहरू ट्रेड युनियनजस्ता केवल पैरवी गर्ने संस्था पनि होइनन् । विद्यमान सहकारी ऐनको दफा २५ ले सहकारी संस्था र संघका कार्यहरूलाई एउटै ढाँचामा उल्लेख गरेको छ । यसको सैद्धान्तिक र दार्शनिक आधार भनेको प्रारम्भिक सहकारीहरूले व्यक्तिसँग र संघहरूले सदस्य संस्थासँग कारोबार गर्ने विषयमा मात्र फरक हुनु हो । अन्य विषयमा दुवैको डीएनए एउटै हो ।
सहकारीको मेरुदण्ड आर्थिक सहभागिता हो । सदस्यहरूको आर्थिक सहभागिताविना सहकारीको क्षेत्रगत सुरक्षाको कल्पना पनि गर्न सकिँदैन ।
सदस्यहरूको सेवामा सहभागिताविना स्वामित्व विकास हुन सक्दैन । त्यसैले सदस्यहरूले आफ्नो सहकारीको पुँजीमा समान रूपमा योगदान गर्छन् र त्यसलाई लोकतान्त्रिक रूपमा नियन्त्रण गर्छन् । त्यस्तो पुँजीको कम्तीमा केही अंश सहकारीको साझा सम्पत्ति हुन्छ । सदस्यहरूले पुँजीमा गरेको योगदानका आधारमा सीमित प्रतिफल प्राप्त गर्न सक्छन् ।
सहकारीबाट प्राप्त खुद बचतलाई संस्थाको विकास, आवश्यक सञ्चिति निर्माण, सदस्यसँगको कारोबारको अनुपातमा वितरण तथा सदस्यहरूले स्वीकृत गरेका अन्य गतिविधिमा उपयोग गरिन्छ । त्यसैले सहकारीको मेरुदण्ड आर्थिक सहभागिता हो । सदस्यहरूको आर्थिक सहभागिताविना सहकारीको क्षेत्रगत सुरक्षाको कल्पना पनि गर्न सकिँदैन ।
अभियानभित्र वित्तीय सुरक्षाको समाधान संघले दिन र अभियानले त्यसलाई ग्रहण गर्न आवश्यक छ । वित्तीय अनुशासनका सबै मानक पालना गराउनु राज्यको दायित्व हो । तर, संघलाई खाली गराएर बनेको बैंकले मात्र अभियानको सुरक्षा गर्न सक्दैन ।
निष्कर्ष
संघहरूले सञ्चालन गर्दै आएका वित्तीय कारोबारलाई सहकारी बैंकमा रूपान्तरण गर्नु सहकारी वित्तीय प्रणालीको दिगो विकासका लागि महत्वपूर्ण अवसरका रूपमा लिन सकिन्छ । नियामकीय सन्तुलनका लागि यो आवश्यक पनि हुन सक्छ । तर, यससँग विभिन्न चुनौतीहरू पनि जोडिएका छन् ।
पर्याप्त चुक्ता पुँजीको व्यवस्था, सदस्य संस्थाहरूको स्वामित्व संरचनामा सहमति, सक्षम मानव स्रोतको विकास, आधुनिक सूचना प्रविधि प्रणालीको स्थापना, सुशासन तथा जोखिम व्यवस्थापनको सुदृढीकरण, नियामकीय मापदण्डको पूर्ण पालना र सार्वजनिक विश्वास कायम गर्नु प्रमुख चुनौतीका रूपमा लिन सकिन्छ ।
विद्यमान संघहरूको भूमिका पुनःपरिभाषित नगरी वित्तीय कारोबार अलग गरेर मात्र सबै समस्याको समाधान आउँदैन । सदस्य संस्थाहरूको हित सुरक्षित राख्नु पनि उत्तिकै आवश्यक छ । त्यसका लागि स्पष्ट कानुनी तथा नियामकीय व्यवस्था, चरणबद्ध रूपान्तरण योजना, पर्याप्त पुँजी परिचालन, दक्ष जनशक्ति विकास, एकीकृत डिजिटल बैंकिङ पूर्वाधार, प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली, निक्षेप सुरक्षा तथा तरलता व्यवस्थापन संयन्त्रको विकास, सदस्य संस्थाहरूसँग व्यापक परामर्श तथा सरकार र नियामक निकायसँगको समन्वय अपरिहार्य हुन्छ ।
संघहरूले चाहेको बैंक वा नाफा होइन, बचत तथा ऋण सहकारी प्रणालीको संरक्षण हो । चुनौतीहरूलाई व्यवस्थित रूपमा सम्बोधन गर्न संघहरूको भूमिका र जिम्मेवारी पुनःपरिभाषित हुन आवश्यक छ । सहकारी बैंकले बचत तथा ऋण सहकारी संस्थाहरूलाई सुरक्षित, विश्वसनीय, प्रतिस्पर्धी र आधुनिक वित्तीय सेवा उपलब्ध गराउँदै नेपालको सहकारी वित्तीय प्रणालीलाई नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण योगदान गर्न सक्छ ।
तर, यस्तो रूपान्तरण हुँदै गर्दा संघहरू भूमिकाविहीन हुन सक्दैनन् । उनीहरू स्रोतविहीन हुन सक्दैनन् र केवल वित्तीय कारोबारबाट अलग गरिँदैमा सहकारी अभियानको उद्देश्य पनि रूपान्तरण हुन सक्दैन । वित्तीय कारोबारको स्वरूप परिवर्तन हुन सक्छ, संस्था परिवर्तन हुन सक्छ, तर सहकारिताको मूल भावना-सदस्यको आर्थिक सहभागिता, सामूहिक स्वामित्व र पारस्परिक संरक्षणलाई कमजोर बनाउने गरी गरिएको रूपान्तरण दिगो हुन सक्दैन ।