काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र पूर्वसभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ ।
उपचारका क्रममा करिब पाँच महिना सिंगापुरमा बसेर साउन २८ गते नेपाल फर्किएका देउवा थापासँग भेटवार्ताका लागि तयार भएका हुन् ।
देउवाका निजी सचिव भानु देउवाका अनुसार थापासँगको भेटका लागि समय तय गर्ने तयारी भइरहेको छ ।
देउवाका नियमित कार्यक्रमलाई हेरेर भेटको समय यकिन गरिने उनले जानकारी दिए ।
‘गगनजीसँगको भेटका लागि तयारी गरिरहेका छौं,’ भानुले भने, ‘तर भेटको समय र छलफल गर्ने विषयवस्तु अहिलेसम्म निश्चित भएको छैन ।’
विशेष महाधिवेशनबाट सभापति बनेपछि थापा र पूर्वसभापति देउवाबीच अहिलेसम्म प्रत्यक्ष भेटवार्ता वा टेलिफोन संवादसमेत भएको छैन ।
त्यसैले आगामी भेटलाई प्रारम्भिक तथा सामान्य भेटका रूपमा पनि लिन सकिने देउवाका निजी सचिवले भानुले बताए ।
देउवा नेपाल फर्किएपछि कांग्रेसभित्र पार्टीको आन्तरिक एकता कायम गर्न विभिन्न तहबाट पहलसमेत सुरु भएको छ ।
विशेष महाधिवेशनमा थापालाई समर्थन गरेका नेताहरूले समेत देउवा र थापाबीच संवाद र सहकार्य आवश्यक रहेको बताउँदै आएका छन् ।
यसै क्रममा कांग्रेस नेता नैनसिंह महरले पार्टी एकताका लागि आफूले तीनवटा प्रस्तावसहित सभापति थापासँग भेट गरेको बताएका छन् ।
थापाले आफूले राखेका प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको महरको दाबी छ ।
‘पार्टी एकताका लागि तीनवटा प्रस्तावसहित सभापतिलाई भेटेको छु । उहाँले हुन्छ भन्नुभएको छ,’ महरले भने
उनका अनुसार प्रस्तावको पहिलो बुँदामा उनले सभापति थापा र पूर्वसभापति देउवाले पार्टी एकताका लागि छलफल गर्नुपर्ने उल्लेख गरेका छन् । दोस्रोमा दुबै सभापतिले १५औं महाधिवेशनको नेतृत्व आफूले लिन पाउनुपर्ने दाबी त्यागेर तेस्रो व्यक्ति चयन गरेरै भएपनि अघि बढ्नुपर्ने प्रस्ताव नेता महरले अघि सारेका छन् ।
तेस्रोमा अदालतको निर्णय आउनुपूर्व नै पार्टी एकतामा जाने र अदालतको निर्णय दुबैले स्वीकार गर्नुपर्ने उनले सुझाएको बताए ।
‘पूर्वसभापतिज्यूले ठीक हो त भन्नुभएको छ । छलफल पनि गर्ने अदालतको निर्णय पनि पर्खने जस्तो संकेत गर्नुभयो,’ आइतबार बिहान देउवासँग भेट गरेका महरले भने ।
विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको विभाजन र आन्तरिक ध्रुवीकरण अन्त्य गर्न देउवा र थापाबीचको संवादलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
यद्यपि, उनीहरूबीच हुने भेटमा कुन–कुन विषयमा छलफल गर्ने भन्नेबारे भने अहिलेसम्म औपचारिक तयारी भइसकेको छैन ।