काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना सेवाहरुलाई डिजिटल बनाउने अभियानलाई तिब्रता दिएको छ । केन्द्रिय बैंकले प्रबिधी मैत्री, सुरक्षित र छिटो छरिटो सेवा प्रवाहलाई बढावा दिँदै अनलाईन रिपोर्टिङ आरम्भ गरेको हो । केन्द्रिय बैंकले रेमिटेन्स कम्पनी, मनि चेञ्जर र ट्राभल एजेन्सीको रिपोर्टिङ अनलाइनबाटै लिन सुरु गरेको छ ।
अब यी कम्पनीहरुले मासिक रुपमा बुझाउने रिपोर्ट अनलाईनबाटै पठाउन सक्ने राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भिष्म ढुंगानाले बताए । अनलाईन रिपोर्टिङ आरम्भ गरेसँगै ५ हजार २ सय वटा कम्पनीले प्रत्येक महिना फाइल बोकेर राष्ट्र बैंक जानुपर्ने झण्झटबाट मुक्त हुनेछन् ।
हाल बाणिज्य बैंकका ७०० वटा शाखा र विदेशी मुद्राको कारोबार गर्ने ४५०० वटा कम्पनीले मासिक रुपमा केन्द्रिय बैंकमा विवरण बुझाउने गरेका छन् । ‘५ हजार २ सय वटा कम्पनीले प्रत्येक महिना हाम्रो विभागमा फाइल बुझाउन आउनु परेको थियो, अब सबैले घर वा अफिसबाटै रिपोर्टिङ गर्न सक्छन’, विदेशी विनियम व्यवस्थापन विभागका प्रमुख ढुंगानाले भने ।
यस्ता कम्पनीका सञ्चालकहरुले पहिलो पटक राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागमा उपस्थित भएर फारम भर्नुपर्नेछ । सोही अवधीमा राष्ट्र बैंकका कर्मचारीले अनलाईन रिपोर्टिङको नियम र तरिकाबारे आवश्यक प्रशिक्षण दिनेछन् । त्यस्ता कम्पनीहरुले बैशाखको विवरण अब अनलाइनबाटै बुझाउनु पर्नेछ । ‘बैशाखको विवरण जेठभित्रै अनलाईनमा बुझाउनुपर्छ । हामीले सिस्टम बनाईदिएका छौं, युजर नेम र पासवर्ड दिन्छौं, घर वा अफिसबाटै विवरण पठाउन सकिन्छ’, ढुंगानाले भने ।
हालसम्म राष्ट्र बैंकको नियमन विभागले बाणिज्य बैंकहरुको व्यालेन्स सिट अनलाईनबाट लिने काम गरिरहेको थियो ।