काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुको पुँजी १० गुणा वृद्धि गरेको छ । हालसम्म २० लाख रुपैंयाँ चुक्ता पुँजीमा काम गर्दै आएका ब्रोकरहरुले अब आफ्नो पुँजी २ करोड पुर्याउनुपर्नेछ । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता नियमावली), २०६४ मा संसोधन गरि ब्रोकरको पुँजी वृद्धि गर्ने निर्णय गरेको हो ।
बोर्डले आफ्नो स्वीकृति लिएर मात्रै ब्रोकर कम्पनीहरुले शाखा विस्तार र आवश्यक पूर्वाधार तथा अन्य शर्तहरु बोर्डले तोक्न सक्ने व्यवस्था पनि थपेको छ । त्यस्तै, ब्रोकरको मुख्य कार्यालयमा कम्तीमा बाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख हुनुपर्ने व्यवस्था पनि थपेको छ ।
कम्पनीको परिपालन अधिकृत तथा सूचना प्रविधि सहित पाँच कर्मचारी हुनुपर्ने, शाखा कार्यालयको लागि बोर्डले यस्ता कर्मचारी तोक्ने समेत व्यवस्था गरेको छ । संशोधित व्यवस्थाअनुसार बोर्डले धितोपत्र व्यवसायीको शाखा व्यवस्थापनलाई अझ व्यवस्थित र सुदृढ गर्दै लाने बताएको छ ।