काठमाडौं । आगामी आर्थिक बर्षमा भूकम्पपछिको पुननिर्माणका लागि एक खर्ब ४६ अर्बको बजेट विनियोजन हुने भएको छ । राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको एक खर्ब ४६ अर्बको सिलिङमा राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माणको कार्यक्रम धमाधम बनाईरहेको छ ।

‘प्राधिकरणले एक खर्ब ४६ अर्बको बजेट सिलिङ पाएको छ, आजै कार्यक्रम बनाएर पेश गर्दछौं’, प्राधिकरणका सहायक प्रवक्ता डा. भिष्म कुमार भुषालले विकासन्युजसँग भने । प्राधिकरणले चालु तथा पुँजीगत खर्चका लागि सो बजेट प्राप्त गरेको हो । चालु आर्थिक बर्षमा भूकम्पपछिको पुननिर्माणका लागि एक खर्ब ४० अर्ब ६६ करोड रुपैंयाँ विनियोजन गरिएको थियो । गत आवमा भने पुननिर्माणका लागि ८४ अर्ब रकम विनियोजन गरिएको थियो ।
निजी आवास निर्माण, पुरातात्विक सम्पदाको पुननिर्माण तथा विद्यालय, स्वास्थ्य संस्था लगायतका पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट निर्माण भैरहेको सहायक प्रवक्ता डा. भुषालले बताए । ‘निजी आवास, पुरातात्विक सम्पदा, विद्यालय तथा स्वास्थ्य संस्थाहरुलाई उच्च प्राथमिकतामा राखेर बजेट निर्माण भएको छ, यी क्षेत्र भूकम्प पछिको पुननिर्माणका लागि उच्च प्राथमिकतामा राखिँदै आएका छन’, डा. भुषालले भने ।