काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा एक घण्टा भन्दा बढि समय सवारी साधन पार्किङ गर्न निषेध गरेको छ ।
महानगरपालिकाले जेठ १ गतेदेखि नै न्युरोड, पाको र सुन्धारा क्षेत्रका सडक आसपासमा एक घण्टा भन्दा बढि समय पार्किङ गर्ने सवारी साधनलाई एक हजारदेखि पाँच हजारसम्म जरिवना असुल्न सुरु गरेको हो ।

‘न्युरोडका सडकमा दिनभरी पार्किङ गर्न पाइन्न, एक घण्टा भन्दा बढि समय पार्किङ गर्नेहरुको सवारी साधन महानगरपालिकाले उठाउँछ र एक हजारदेखि पाँच हजार जरिवाना असुल्छ’, काठमाडौं महागरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले विकासन्युजसँग भने । त्यसका लागि महानगरपालिकाले सो क्षेत्रका सडक किनारामा पार्किङ हुने सवारी साधनमा टाइम कार्ड प्रयोगमा ल्याएको छ ।
सवारी साधन पार्किङ गर्दा महानगरपालिकाले पार्किङमा राखिएको समय उल्लेख गरेर स्टिकर टास्छ । एक घण्टा भन्दा बढि समयसम्म उक्त सवारी साधन सोही स्थानमा भेटिए महानगरपालिकाका कर्मचारीले उठाउनेछन् । त्यसरी उठाइएका मोटरसाइकलसँग एक हजार र चार पाँग्रे मोटरसँग पाँच हजार जरिवाना असुल्न थालिएको प्रवक्ता कार्कीले बताए ।

महानगरपालिकाले शंकरदेव क्याम्पस आसपास, पुतलीसडक क्षेत्र र महावौद्धमा पनि एक घण्टे पार्किङ योजना कार्यान्वयन गराउने तयारी गरेको कार्कीले बताए । उपत्यकाको कोर सिटी क्षेत्रका सडकलाई व्यवस्थित गर्न पार्किङमा कडाई गरिएको कार्कीले बताए ।
‘सडकलाई पार्किङ जोन बन्न दिँदैनौं, काम हुनेले एक घण्टामा सकेर आफ्नो सवारी साधन लैजान सक्छन, सडकलाई दिनभरी सवारी साधन पार्किङ गर्ने स्थल बन्न दिँदैनौं’, कार्कीले भने ।