काठमाडौं । नेपाल औषधी उत्पादक संघले ३६ वटा औषधी आयातमा रोक लगाउने सरकारी निर्णयको स्वागत गरेको छ । नेपालमै यथेष्ठ मात्रामा उत्पादन भैरहेका ३६ वटा औषधीको आयात रोक्दा स्वदेशी औषधी उद्योगको संरक्षणमा सहयोग पुगेको भन्दै उनीहरुले स्वागत गरेका हुन् ।

औषधी उद्योग संघले नेपाल सरकारले नेपालमै उत्पादन हुने औषधीको आयातमा रोक लगाएमा बार्षिक २० अर्बको औषधी आयात प्रतिस्थापन गर्ने घोषणा समेत गरेको छ । हाल नेपाली औषधी बजारको ४४ प्रतिशत हिस्सा स्वदेशी उत्पादनले ओगटेको औषधी उत्पादक संघका अध्यक्ष शंकर घिमिरेले बताए । ‘५६ प्रतिशत बजार बिदेशी औषधीले लिएको छ, नेपाल सरकारले नेपाली औषधी उद्योगको प्रवद्र्धन र प्रोत्साहन गर्ने हो भने २० अर्बको औषधी आयातलाई प्रतिस्थापन गर्न सक्छौं’, अध्यक्ष घिमिरेले भने ।
नेपाल उद्योग बाणिज्य महासंघको बस्तुगत संघ तर्फका उपाध्यक्ष समेत रहेका औषधी उत्पादक संघका निवर्तमान अध्यक्ष उमेश लाल श्रेष्ठले पनि आन्तरिक औषधी उद्योगको प्रवद्र्धनमा सरकारले कर छुट र अनुदानको व्यवस्था गर्नुपर्ने बताए । औषधी उत्पादक संघका बरिष्ठ उपाध्यक्ष दिपक प्रसाद दाहालले नेपालको औषधी बजारमा ५२ प्रतिशत हिस्सा भारतीय औषधीको रहेको बताउँदै त्यसको विस्थापनका लागि नेपाली उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए । भारतले आफ्ना औषधी उद्योगलाई बिभिन्न् ३५ वटा निकाय मार्फत अनुदान दिईरहेको बताउँदै नेपालले पनि त्यस्तो व्यवस्था गर्नुपर्ने धारणा राखे ।
उनले नेपालका औषधी संसारका जुनसुकै मुलुकको ल्याबमा लगेर परिक्षण गराउँदा पनि गुणस्तरिय सावित हुने दावी पनि गरे । औषधीका लागि छुट्टै औद्योगीक ग्राम, बिजुली र पानीको नियमित व्यवस्था र १० बर्षसम्म कर छुटको सुबिधा उपलब्ध गराउन माग पनि गरे ।