काठमाडौं । १४ वटा वाणिज्य बैंकका १८ जना सञ्चालकले पद त्याग गर्नु पर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा ५ देखि ७ जनाको सञ्चालक समिति हुने व्यवस्था भएको उल्लेख गर्दै राष्ट्र बैंकले कानुनमा उल्लेख भन्दा बढी सञ्चालकहरुलाई पद त्याग गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै ‘प्रचलित कानूनमा भएको व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा कम्तिमा ५ जना र बढीमा ७ जना सञ्चालक हुने गरी संस्थापक सेयर समूह र सर्वसाधारण सेयर समूहबाट सेयर स्वामित्व अनुपातका आधारमा प्रतिनिधित्व हुनुपर्ने भएकोले बैंक तथा वित्तीय संस्थाले यथाशीघ्र साधारण वा विशेष साधारणसभा बोलाई आ–आफ्नो प्रबन्ध पत्र तथा नियमावली संशोधन/समायोजन/परिमार्जन गरी प्रचलित कानुन अनुरुप सञ्चालक समिति गठन’ गर्न निर्देशन दिएको छ ।
सोही व्यवस्था अनुसार २६ वाणिज्य बैंक मध्ये १४ वटा सञ्चालक समिति पुर्नगठन हुने भएका छन् ।
हाल कृषि विकास बैंकमा ९ जना, नेपाल इन्भेष्टमेन्ट बैंकमा ९ जना र मेगा बैंकमा ९ जना सञ्चालक रहेका छन् । यी तीन बैंकबाट ६ जनाले पद त्याग गर्नुपर्ने भएको छ ।
एनएमबी बैंकमा एक जना बैकल्पिक सहित १० जना सञ्चालक छन् । हिमालय बैंकमा ७ जना सञ्चालक र ६ जना बैकल्पिक सञ्चालक छन् । नयाँ ऐनले पनि बैकल्पिक सञ्चालकको व्यवस्था गरेको छ । एनएमबी बैंकका कम्तिमा २ जना सञ्चालकले छोड्नु पर्ने भएको छ ।
नविल बैंक, नेपाल एसवीआई बैंक, एभरेष्ट बैंक, सिटिजन्स इन्टरनेशलन बैंक, प्राइम कमर्सियल बैंक, सनराईज बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डूमा मा ८/८ जनाको सञ्चालक रहेका छन् । त्यस्तै हालै मात्र राष्ट्र बैंकले गठन गरिदिएको एनसीसी बैंक सञ्चालक समिति पनि ८ जनाको छ ।
यी ९ वटा बैंकहरुबाट ९ जना सञ्चालकहरुले पद छोड्नु पर्ने भएको छ ।
नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया, ग्लोबल आईएमई, प्रभु बैंक, सिभिल बैंक र जनता बैंकमा भने ५ देखि ७ जनाको सञ्चालक समिति रहेको छ । उनीहरुले तत्काल विशेष साधारणसभा गर्नु नपर्ने भएको छ ।
७ जना भन्दा बढी सञ्चालक रहेका विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तहरुले पनि यथाशीग्र साधारणसभा गरी सञ्चालक समिति पुर्नगठन गर्नु पर्ने नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायणप्रसाद पौडेलले बताए । हाल ५४ वटा विकास बैंक, ३३ वटा फाइनान्स र ५० वटा लघुवित्त कम्पनीहरू सञ्चालनमा छन्र । ती संस्थाहरूबाट पनि १०० भन्दा बढी सञ्चालकले छाेड्नु पर्ने अनुमान गरिएकाे छ ।