काठमाडौं । करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रूपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् ।
मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् ।
अरबी क्षेत्रमा अस्थिरता ल्याएको र इस्लामिक स्टेट, अलकायदा र मुस्लिम ब्रदरहुडलाई सहयोग गरेको भन्दै उनीहरू कतारसँग क्रूद्ध बनेका हुन् ।
नेपालीको रोजगारी गुम्ने खतरा
कतारको अर्थतन्त्र कमजोर बन्दै जाँदा त्यहाँको निर्माण क्षेत्र कमजोर हुन्छ र उसले विदेशी कामदार फर्काउन सक्छ । अर्कोतर्फ कतारले विदेशी कामदार लैजान कम ग(यो भने पनि प्रभावित त नेपाली नै हुन्छन् ।
कतारका व्यवसायीले विदेशमा गरेको लगानी बन्द भयो भने पनि त्यस्ता कम्पनीमा कार्यरत नेपालीलाई फर्काउन सक्छ ।
गणेश गुरुङ, वैदेशिक रोजगारविज्ञ
सूक्ष्म रूपमा हेरिरहेका छौँः परराष्ट्र मन्त्रालय
खाडी क्षेत्रको पछिल्लो घटनाक्रमलाई सूक्ष्म रूपमा हेरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘यो घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा हेरिरहेको छ, आज जुन घटना भएको छ, दोहा, अबुधावी, कायरो, रियादका दूतावासलाई अध्ययन गरी प्रतिवेदन दिन निर्देशन दिएका छौँ,’ परराष्ट्र प्रवक्ता भरतराज पौड्यालले भने । नयाँ पत्रिका दैनिकबाट ।
सोमबारबाटै उडान रद्दः सयौं यात्रु मर्कामा
काठमाडौं । कतार जाने कुनै पनि यात्रुलाई साउदी अरेबीया र यूएईका एयरलाइन्सले यात्रु नबोक्ने घोषणा गरेपछि नेपालबाट कतारको दोहा ट्रान्जिट भएर जाने यात्रुहरु मर्कामा परेका छन् ।
आसपासका ६ राष्ट्रले कतारसँगको आफ्नो सबै कूटनीतिक सम्बन्ध र सबै सीमा, सामूहिक र हवाईमार्ग समेत विच्छेद गरेपछि यो समस्या उत्पन्न भएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।
साउदी अरेबिया र यूएईका एयरलाइन्सले सोमबार नै काठमाडौंबाट दोहा जाने यात्रु नलाने घोषणा गरेपछि सयौं यात्रुहरु काठमाडौंमा नै अलपत्र परेका छन् ।