काठमाडौं । खाडी मुलुक कतारमाथी साउदी अरब, युएई, बहराइन, यमन र इजिप्ट र लिबियाले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेसँगै नयाँ तरंग सृजना भएको छ । अब खाडी मुलुकमा संकट आउने, इन्धनको बजारमा समस्या आउने, कतारको अर्थतन्त्र ओरालो लाग्ने, विश्व कतारको पक्ष र विपक्षमा उभिने लगायतका अड्कलबाजी सुरु भएका छन् ।

नेपाल र भारतका लागि कतारमाथीको प्रतिबन्ध महंगो पर्ने निश्चित भैसकेको छ । एउटै फोरममा बसेर सहकार्य गर्दै आएका खाडी मुलुकहरु किन एक्कासी कतार विरुद्ध खनिए ? प्रश्न गम्भिर छ । कतारले आइएसलाई सघाएको तथा खाडी क्षेत्रमा अशान्ति मच्चाउन भूमिका खेलेको आरोप लागेको छ । त्यसो त कतार इरानको नजिकको मित्र शक्ति पनि हो जसको खाडी मुलुकसँग कटु सम्बन्ध रहँदै आएको छ । इरानसँग अमेरिकाको सम्बन्ध राम्रो नहुनु, कतार र इरान मित्र पक्ष हुनु, कतारले अमेरिकाको हातबाट सन २०२२ को विश्व कप फुटबल खोसेर लिनु जस्ता कारणले कतारलाई घेरा बन्दीमा पारिएको बुझ्न गाह्रो छैन् ।

साउदी अरब, यमन, इजिप्ट, बहराइन, युएई र लिबियाले आफ्नो देशमा रहका कतारी कुटनितिक नियोग बन्द गर्न र देश छाड्न कर्मचारीलाई आदेश दिएका छन् । त्यस्तै, कतारी नागरिकलाई २ हप्ताभित्र देश छाड्न भनिसकेका छन् । ती देशहरुले आफ्ना नागरिकलाई पनि कतार नजान निर्देशन दिएका छन् । कतारलाई एक्ल्याउने प्रयाससँगै कतारले जिसिसि(गल्फ कन्ट्री काउन्सिल)को भविष्य माथी नै प्रश्न उठाएको छ । कतारका अर्थ मन्त्रीले जिसिसिको भबिष्यमाथी नै प्रश्न चिन्ह उठाउँदै वार्ता र छलफलद्धारा समस्याको समाधान आवश्यक रहेको बताएका छन् ।
वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीका अनुसार हाल कतारमा चार लाख नेपाली कामदार रहेका छन् । आर्थिक बर्ष २०७०/७१ पछि श्रम स्विकृति लिएर कतार जाने नेपालीहरुको संख्या ३ लाख २ हजार ८ सय ५४ जना रहेको छ । त्यस अघि नै कतार पुगेर बसेका र अनधिकृत रुपमा कतार पुगेकाहरुको संख्या जेड्दा करिब ४ लाख नेपाली कतारमा रहेको उनले बताए ।
उनले कतार संकटलाई हाइ अलर्टमा हेरिएको तर पनि तत्कालका लागि श्रम स्विकृति भने नरोकिएको पनि जानकारी दिए । परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयले समन्वय गरेर कतारको अवस्थाबारे अध्ययन गरिरहेको पनि उनले बताए ।