काठमाडौं । व्यवस्थापिका–संसद्ले आज नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचित गरेको छ ।

प्रधानमन्त्री चयनको निर्वाचनमा एक मात्र उम्मेदवार रहेका देउवाले ३८८ मत प्राप्त गरेका छन् । उनको विपक्षमा १७० मत परेको थियो ।
देउवाले खरेको मतको ६९ प्रतिशत र कुल सांसदको ६५ प्रतिशत मत पाएका छन् । हाल संसद्मा कायम कुल ५९३ सांसद रहेकामा ५५८ जनाले मात्र मतदानमा भाग लिएका थिए ।
‘सभापति देउवालाई नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरियोस्’ भनी प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेका थिए ।
माओवादी केन्द्र र नेपाली काँग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम, समाजवादी जनता दल, अखण्ड नेपाल पार्टी र नेकपा (संयुक्त) लगायतका दलले देउवाको पक्षमा मतदान गरेका थिए । देउवाको विपक्षमा नेकपा (एमाले), नेकपा (माले) राष्ट्रिय जनमोर्चा, परिवार दललगायतले मतदान गरेका थिए ।

देउवा प्रधानमन्त्री भएको यो चौथो पटक हो । नवनिर्वाचित प्रधानमन्त्री देउवाको जन्म २००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा भएको हो ।
२०१७ सालदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय देउवा नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य थिए ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रधानमन्त्री देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो गरेका छन् । उनकी धर्मपत्नी डा आरजु राणा देउवा व्यवस्थापिका–संसद् सदस्य छिन् भने उनका एक छोरा छन् ।
विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित देउवा २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।
विसं २०४८ मा गृहमन्त्री भएका प्रधानमन्त्री देउवाले त्यसपछि पटकपटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका थिए । त्यसपछि उनी २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री भए । असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए ।
प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री भए । राजाले नियुक्त गरी प्रधानमन्त्री बनाएका देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरे ।
२०५९ सालमा काँग्रेस विभाजन गरी उनले नेपाली काँग्रेस (प्रजातान्त्रिक) गठन गरे र सभापति भए । विसं २०६४ मा काँग्रेस र काँग्रेस (प्रजातान्त्रिक)को एकतापछि उनी नेपाली काँग्रेसको वरिष्ठ नेता भएका थिए । उनी ढेड वर्षअघि नेपाली काँग्रेसको सभापति भएका हुन ।