
फाेटाे स्राेत बाहिरी चक्रपथ अायाेजना
काठमाडौं । बाहिरी चक्रपथ आयोजनाले चोभार–सतुंगल खण्डको काम सुरु गर्नुपहिले सतुंगलमा रहेको कृषि बैज्ञानिकका डेढ करोड पर्ने घर भत्काउने भएको छ ।
सतुंगलमा रहेको नार्कमा कार्यरत ताराबाहादुर घिमिरे र कृषि वैज्ञानिक एकबहादुर सिंहको डेढ डेढ करोडका दुई घर भत्कने भएका छन् ।
विकास निर्माणको क्रममा हाम्रो घर भत्किएर कुनै चिन्ता छैन तर राज्यले भने उचित क्षतिपूर्ति दिनुपर्ने सिंहले विकास न्युजलाई जानकारी दिए ।
सिंहले दिएको जानकारी अनुसार उनको आफ्नो साढे ३ आनामा बनेको साढे दुई तलको घरसहितको ३४ आना जग्गा पर्ने भएको छ । उनका अनुसार घरको चारपाँच वर्ष अगाडि नै बनाएको हुँ ।
बाहिरी चक्रपथ आउँछ मेरै घर पर्छ भन्ने चाहिँ थाहा भएन, उनले भने । उनका अनुसार सँगै रहेको साढे तीन तलाको घिमिरेको घर पनि आयोजना निर्माणको क्रममा भत्कने भएको छ । उनको भन्दा घिमिरेको घर नयाँ र ठूलो भएकोले उनको तुलनामा अझै बढी मूल्यांकन हुँने छ । उनका अनुुसार आफ्नो घर सवा करोडसम्मको रहेको भएपनि घिमिरेको भने डेढ करोडकै मूल्यांकनको अनुमान गरिएको छ ।
चोभार सतुंगल खण्डको साढे ६ किमी सडक निर्माण अन्र्तगत सतुंगलको एउटा क्षेत्रको संघर्ष समितिका अध्यक्ष पनि हुन सिंह ।
उनका अनुसार सरकारले बनाउने विकास निर्माणमा हाम्रो कुनै अवरोध र गुनासो हुँदैन । हाम्रो चिन्ता भनेकै उचित क्षतिपूर्ति र समयमा नै हुनुपर्छ भन्ने हो ।
उनका अनुसार बाटोमा पर्ने घरको उचित क्षतिपूर्ति, भित्रि बाटोको पनि उचित क्षतिपूर्ति, तुरुन्तै क्षतिपूर्ति दिनुपर्ने र बोटविरुवा हुनेको पनि सोही अनुसार मूल्यांकन गरेर क्षतिपूर्ति दिनुपर्नेसहतिको ६ बुँदे माग पनि राखिएको छ । आफ्नो मागका विषयमा आयोजना सकारात्मक रहेको पनि उनको बझुाई छ ।
आयोजनाका अनुसार यो क्षेत्रमा पहिले जम्मा १४ वटा मात्रै घर पर्ने भएपनि अहिले २ सय वटा पुगिसकेको छ । साढे ६ किमिको यो दुरीको ६ ठाउँबाटै निर्माण गर्ने र छिटो सक्ने हिसावले आयोजनाले प्रक्रिया अगाडि बढाइरहेको छ ।
आयोजनाका शाखा अधिकृत ध्रुव सापाकोटाका अनुसार यही जेठ भित्रै जग्गा अधिग्रहणको सूचना सार्वजनिक हुने भएको छ । सो सूचनासँगै जग्गा रोक्का हुने पनि उनले जानकारी दिए । आयोजना अहिलेसम्मको उत्कृष्ट विकासको मोडल भएको र स्थानीयको सहयोगले थप सहज रुपमा निर्माण गर्न सकिने उनको बुझाई छ ।
उनका अनुसार २०६५ सालमा सो क्षेत्रमा जम्मा १४ वटा घर मात्रै थिए । यो खण्डमा १४ हजार कित्ता जग्गा रहेको छ । ती घरहरुको मुआब्जा जम्मा एक करोड ५१ लाख ५७ हजार ७ सय रुपैंयाँ मात्रै थियो । तर अहिले घर संख्या बढेर करिब २ सय वटा भएको छ । समयमा नै निर्माणको प्रक्रिया अगाडि बढाउन नसक्दा लागत बढेको छ ।
उनका अुनसार यो खण्ड निर्माण गर्न करिब ६ अर्ब खर्चको अनुमान गरिएको छ । यो खण्डमा १४ हजार कित्ता जग्गा रहेको छ । यो पहिलो खण्डको निर्माण पछि आयोजनाले थप खण्डको काम गर्दै जाने र हरके खण्डको काम दुई वर्र्ष भित्रै सक्ने योजना अगाडि सारेको छ ।