काठमाडौं । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सव “१७औँ वार्षिकोत्सव नयाँ प्रविधिको” भन्ने मूल नाराका साथ मनाएको छ । वार्षिकोत्सव समारोहमा आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले शुभकामना व्यक्त गरेका थिए । साथै, अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६औँ अधिवेशनमा भाग लिन जेनेभा गएका अध्यक्ष चन्द्र प्रसाद ढकालल भिडियो मार्फत शुभकामना दिएका थिए ।

वार्षिकोत्सवमा कम्पनीको सत्र वर्षे यात्रामा निरन्तर सेवा लिनुहुने सेवाग्राहीहरू मध्ये विदेशबाट पैसा पठाउने १७ र नेपालमा प्राप्त गर्ने १७ गरी कूल ३४ जना सेवाग्राहीहरुलाई सिस्टममा आधारित रहेर ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिएको थियो । विजेता घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रबन्ध निर्देशक हेमराज ढकालले आगामी दिनमा आइएमई सेवालाई अझै परिष्कृत र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
१७औँ वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक खेलकुदका विजेता तथा उपबिजेताहरुलाई प्रबन्ध निर्देशक हेमराज ढकालले पदक, ट्रफी एवम् शिल्ड प्रदान गरेका थिए । कम्पनीमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई उक्त अवसरमा सम्मान गरिएको थियो ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरीतथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १५५ आईएमई सेन्टर सहित ७५ जिल्लाका ६,१०० सयभन्दा बढी सव-एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् सेवा दिँदै आइरहेको छ । साथै, कम्पनीले विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आई रहेको बताएको छ ।