नारायणगढ–मुग्लिन सडकमा दिँउसो गाडी चल्न दिने, रातमा बन्द गरि निर्माण कार्य गरिने

<p>काठमाडौं । नारायणगढ– मुग्लिन सडक खण्डमा अब दिउँसोको समयमा सवारी साधन गुड्न दिइने भएको छ । सो खण्डमा रातीको समयमा भने सवारी आवत जावत बन्द गरी सडक विस्तारको काम गरिने भएको छ । मंगलबार संसदको विकास समितिमा बोल्दै सडक विभागका महानिर्देशक गोपाल सिग्देलले उक्त जानकारी दिएका हुन् । ‘दिउँसो सवारी साधान खुल्न दिने र राती [&hellip;]</p>

काठमाडौं । नारायणगढ– मुग्लिन सडक खण्डमा अब दिउँसोको समयमा सवारी साधन गुड्न दिइने भएको छ । सो खण्डमा रातीको समयमा भने सवारी आवत जावत बन्द गरी सडक विस्तारको काम गरिने भएको छ ।

मंगलबार संसदको विकास समितिमा बोल्दै सडक विभागका महानिर्देशक गोपाल सिग्देलले उक्त जानकारी दिएका हुन् । ‘दिउँसो सवारी साधान खुल्न दिने र राती प्रयाप्त बत्तीको व्यवस्था गरि निर्माण कार्य गरिने छ’ सिग्देलले भने ।

करिव ३२ किलोमिटरको उक्त क्षेत्रमा सडक विस्तारको काम हुँदै आएको छ । सडक विस्तारको ठेक्काको समयावधि पुरा भए पनि काम भने ५० प्रतिशत मात्र भएको उनले बताए ।

१०, १० र १२ किलोमिटर गरी तीन खण्डमा तीन कम्पनीलाई सडक विस्तारको ठेक्का दिएकोमा तीन वटै कम्पनीले निर्धारित समयमा काम सम्पन्न नगरेको उनले बताए । हाल करिव १२ किलोमिटर सडक मात्र विस्तार गरि कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।

सरकारले तीन वटै कम्पनीलाई ठेक्का अवधि थपेर काम गर्न दिने भएको छ । ठेकदार कम्पनीहरुले आगामी मंसिर १५ गतेसम्म काम सम्पन्न गर्ने योजना सरकारलाई पेस गरेको र सो अवधिमा सडक विस्तार कार्य पुरा हुने महानिर्देशक सिग्देलले बताए ।

करिव ४ किलोमिटर क्षेत्रमा पहिरो गईरहेकोले सो क्षेत्रमा पर्खाल लगाउने, रुख रोप्ने जस्ता कार्य गर्नु पर्ने र त्यस क्षेत्रको निर्माणका सबै काम सम्पन्न हुन ३ देखि ४ वर्ष लाग्ने उनले बताए ।

उक्त सडकमा दैनिक ८ हजार भन्दा बढी सवारीसाधान ओहोरदोहोर गर्ने गरेका छन् । सडक अवरुद्ध हुँदै दैनिक लाखौं मानिस नराम्ररी प्रभावित भएका छन् । सो क्षेत्रमा बारम्बार सवारी दुर्घटना हुँदा र पहिरो जाँदा करिव ४ दर्जन मानिसको ज्यान गएको छ ।

Share News