काठमाडौं । भूकम्प गएको दुई वर्ष वित्दा पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ३५ अर्ब ११ करोड रुपैयाँ बाँडफाँड (अंश बण्डा) नै सकेको छैन । रकम खर्च गर्ने परियोजनाहरूको मोडालिटी तयार नहुँदा अर्थात ढिला गरी मोडालिटी तयार हुँदा उक्त रकम अबण्डाको रुपमा रहेको हो । भारत सरकारले स्रोत विनियोजन गर्ने भनिएको साढे १२ अर्ब रुपैयाँको अझै सम्झौता हुन नसकेको, जर्मन, कोरियाजस्ता सिधै स्रोत भुक्तान गर्ने प्रतिवद्धता गरेका राष्ट्र समक्ष कार्यक्रम नै पेश गर्न नसक्नु तथा स्रोत विनियोजन गरेका जाइका, एडीबीलगायतका विकास साझेदारबाट विनियोजित रकम खर्च गर्न प्रयास गर्दा गर्दै पनि खर्च गर्न नसकिएको कारण ठूलो रकम अबण्डामा परेकोप्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेलले बताए ।
चालु आर्थिक वर्षको ६ महिनापछिमात्र त्रिभुवन विश्वविद्यालय भवन निर्माणको मोडालिटी तयार भएको, विद्यायत तथा गुम्बा पुननिर्माणको मोडालिटी ढिलो गरी तय भएको छ । जसले गर्दा परियोजना अघि बढाउन गाह्रो भएको हो । प्राधिकरणले चालु आवमा पुननिर्माणका लागि कुल एक खर्ब ११ अर्ब खर्च गर्ने अख्तियारी पाएको थियो । सो रकममध्ये हालसम्म करिब ५६ प्रतिशत रकममात्र खर्च हुन सकेको प्राधिकरणले जानकारी दिएको छ ।
एकलाखले मात्रै बनाउन शुरु गरे घर
भूकम्प गएको दुई वर्षमा प्राधिकरणले सवा ६ लाख भूकम्प पीडितसँग पहिलो किस्तको सम्झौता गरेपनि एक लाखलेमात्र घर निर्माण कार्य शुरु गरेका छन् ।प्राधिकरणका अनुसार५० हजार पाएकामध्ये१ लाख १० हजार ६ सय ४९ भूकम्प पीडितलेमात्रै घर निर्माण कार्य शुरु गरेका हुन् । अहिलेसम्म ५ लाख ९२ हजार ९ सय ६१ ले घर निर्माणका लागि सरकारबाट पहिलो किस्ताको अनुदान पाएका छन् । सोमध्ये ४ लाख ८२ हजार ३ सय १२ पीडित परिवारले घरको जगसमेत हालेका छैनन् । विनाशकारी भूकम्पका कारण ३१ जिल्लाका ७ लाख ४६ हजारले आफ्नो निजी आवास गुमाएका छन् ।
सरकारले अहिलेसम्म ६ लाख २८ हजार ४ सय ४३ भूकम्पपीडित परिवारसँग अनुदान सम्झौता गरिसकेको छ भने एक लाख १७ हजार पाँच सय ५७ लाभग्राहीसँग अझै सम्झौता गर्न सकेको छैन । पहिलो किस्ता पाएकामध्ये ७७ हजार १ सय ८० परिवारले घरको जग हालेर दोस्रो किस्ताको लागि आवेदन दिएका छन् । सो मध्ये ६४ हजार ३ सय २१ आवेदन प्रमाणिकरण भइसकेका प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार अहिलेसम्म ३८ हजार ७ सय २४ वटा घरहरु निर्माण भएका छन् । यस्तै ४८ हजार २१ परिवारले दोस्रो किस्ता वापतको १ लाख ५० हजार रुपैयाँ बुझिसकेका छन् । ३१ जिल्लाका २ हजार २ सय ३४ पीडित परिवारले तेस्रो किस्ता वापतको १ लाख रुपैयाँ पनि बुझिसकेका छन् ।
भूकम्पमा निजी आवास गुमाएका पीडितलाई नयाँ घर बनाउन सरकारले तीन किस्तामा गरी तीन लाख रुपैयाँ उपलब्ध गराउने छ । सो योजनाअनुसार पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख रुपैयाँ उपलब्ध गराइने छ ।