काठमाडौं । आईडिया लगाउनुपर्छ, शून्य लगानीमा पनि पूर्वाधार विकास गर्न सकिन्छ । साथै, त्यही पूर्वाधारबाट वार्षिक करोडौ रुपैयाँ आम्दानी गर्न सकिन्छ ।
यो सपना होइन, कथा सुनाएको पनि होइन, वास्तविकता हो । र, टाढाको कुरा पनि होइन, राजधानीको सडकमा भईरहेको वास्तविकता ।
राजधानीका मुख्य सडकहरुमा अहिले धमाधम सोलार वत्तिसहितको पोल गाडीदैँ छ । काठमाडौं महानगरपालिकाको सडकमा राखिदैँ गरेका यी सोलार बत्ति र पोलमा महानगरपालिकाले एक रुपैयाँ पनि लगानी गरेको छैन । नेपाल सरकार वा विदेशी दाताले अनुदान दिएका पनि छैनन् ।
महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार काठमाडौ उपत्यकाको थापाथली, माइतीघर, कोटेश्वर, चाबहिल, टेकु, कालीमाटी, त्रिपुरेश्वर लगायतका महानगरभित्रको प्रमुख सडकहरुमा सोलार बत्ति राखिदैछ ।
यी सडकमा १२८५ वटा पोलमा सोलार बत्ति राखिदैछ । सरकारी-निजी साझेदारी (पब्लिक प्राइभेट पार्टनरसीप) मोडलमा सडकमा सोलार बत्ति राख्दा महानगर वा सरकारको तर्फबाट लगानी शून्य छ ।

रोशन श्रीवास्तव
यो पूर्वाधार निर्माण गर्दा सरकारको लगानी शुन्य मात्र भएन, उल्टै तिनै सडक बत्तिबाट महानगरले वार्षिक १ करोड ३४ लाख रुपैयाँ रोयल्टी पाउने छ । त्यस्तै वार्षिक २ करोड ५० भन्दा बढी विज्ञापन शुल्क आर्जन हुनेछ ।
लोडसेडिङका कारण सडक अध्यारो भएको बेलामा उज्यालाे नेपाल कार्यक्रम अन्तर्गत यो परियोजना अगाडि बढेको हो । ‘त्यतिबेला नै यो काम भएको भए यसको प्रभावकारीता धेरै हुने थियो । अहिले पनि यसको महत्व धेरै छ’ सोलार बत्ति राख्ने जिम्मा पाएको विके ट्रेडर्स कम्पनीका प्रबन्ध निर्देशक रोशन श्रीवास्तवले भने ।
सरकारी-निजी साझेदारीमा यसरी काम गर्न सकिन्छ भनेर मैले नै महानगरपालिकालाई अवधारण बुझाएको थिए । महानगरले पहिले टेण्डर गर्यो । मैले पाएँ ।
‘यो प्रजेक्ट सम्पन्न गर्न मैले सरकारसँग एक रुपैयाँ पनि लिएको छैन, सबै मैले नै लगानी गरेको छु । व्यवसायसँगै देशको हितमा केही काम गर्ने सोचका साथै मैले जोखिम लिएर पनि ५० करोड भन्दा बढी लगानी गर्ने निर्णयमा पुगेँ’ उनले भने ।
निजी क्षेत्रले बनाएको पोल र सोलारको गुणस्तर कस्तो हुन्छ ?
श्री वास्तव जोशिदै भने-‘सार्क सम्मेलनअघि राखिएको जस्तो ६ महिनापछि बत्ति नबल्ने सोलार हुँदैन । पाउडर पुटेड पोल राखिएको छ । २५ वर्षसम्म पोलको वारेन्टी छ । आगो लागे पनि केही हुँदैन । लिथिइम भ्याट्री प्रयोग भएको छ । काठमाडौंमा १० दिनसम्म झरी परेपनि राती बत्तिको उज्यालोमा कमी आउँदैन ।’
उनले थपे-जहाँ मैले सोलार बत्ति जडान गरेको छु, त्यो सडकमा तपाईले हेडलाईट नबाली राती पनि गाडी कुदाउन सक्नुहुन्छ ।’ उनका अनुसार पोलमा जडान गरिएको बल्बको पावर ५० वाटको हुने हुनाले हेडलाईट नबालीकन सहजै मोटर हाँक्न सकिने छ ।

यसरी पोल राखेबापत कम्पनीले १० वर्षसम्म हरेक पाेलमा ३ फिट वाई ४ फिटको विज्ञापन बोर्ड झुण्डाउनेछ । विज्ञापन स्पेस बिक्री गरेर कम्पनीले आम्दानी गर्ने छ । ‘८ वर्षमा मेरो लगानी उठ्छ, दुई वर्षको कमाई मलाई नाफा हुन्छ’ उनले भने । ‘पोल राखेबाफत रोयल्टी प्रतिपोल ८ हजार ७ सय रोयल्टी रुपैयाँ र प्रति विज्ञापन शूल्क ७ हजार २ सय राजस्व वार्षिक रुपमा महानगरपालिकालाई तिर्दै गरी सम्झौता गरेको उनले बताए ।
पोल निर्माणदेखि १० वर्षसम्म मर्मत खर्च पनि आफैले गर्ने उनले बताए । ‘मैले १० वर्षसम्म विज्ञापनबाट पैसा कमाउने हो । तर विद्युत प्राधिकरणको पोलमा विज्ञापन राख्ने र मलाई दुःख दिने प्रयास शुरु भएको छ । राम्रो काम गर्नेलाई दुःख दिन्छन् ।’ महानगरका सडकका अन्य पोलमा विज्ञापन राख्न नपाउने सहमति भएको उनले बताए ।
सम्झौता अनुसार १८ महिनामा निर्माण कार्य सम्पन्न गर्नु पर्ने हो । सम्झौता भएको ८ महिनामा ७० प्रतिशत काम सकिएको उनले बताए । ‘करिव ५० करोड लगानी हुँदै छ । बैंकबाट कर्जा लिएर काम गरेको छु’ २९ वर्षिय युवा उद्यमी श्रीबास्तवले भने । विके ट्रेडर्स कम्पनीले सम्झौता अनुसार नै काम गरिरहेको महानगरका प्रवक्ता कार्कीले बताए ।